अमेरिकामा तौल घटाउने औषधि ‘वेगोभी’ को ट्याब्लेट संस्करणलाई एफडीएको स्वीकृति


प्रकाशित मिति : पुस ६, २०८२ सोमबार

person holding four assorted medicine tablets

अमेरिकामा तौल घटाउने औषधिको ‘पिल’ (गोली) संस्करणले आधिकारिक मान्यता पाएको छ। तौल घटाउन प्रयोग गरिने औषधि ‘वेगोभी’ को ट्याब्लेट संस्करणलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले स्वीकृति दिएको हो।

डेनमार्कस्थित औषधि उत्पादक कम्पनी नोभो नोर्डिस्कका अनुसार, एफडीएको यो स्वीकृतिसँगै वेगोभी तौल घटाउने औषधिहरूमा स्वीकृति पाउने पहिलो ‘ओरल’ (मुखबाट सेवन गरिने) औषधि बनेको छ। यसलाई मोटोपनको उपचारमा नयाँ युगको सुरुवातका रूपमा हेरिएको छ।

नोभो नोर्डिस्कका अनुसार दिनमा एक पटक सेवन गर्न मिल्ने यो गोली, इन्जेक्सनको एक सुविधाजनक विकल्प हो। यसले सुईमार्फत दिइने वेगोभी जत्तिकै प्रभावकारी रूपमा तौल घटाउन मद्दत गर्छ। वेगोभी यसअघि नै सुईको रूपमा तौल घटाउनका लागि स्वीकृत भइसकेको औषधि हो।

यससँग मिल्दोजुल्दो प्रभाव भएको ‘ओजेम्पिक’ जस्ता औषधिहरू भने मुख्य रूपमा टाइप-२ मधुमेहको उपचारका लागि स्वीकृत गरिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कम्पनीले गरेको परीक्षणमा वेगोभीको गोली प्रयोग गर्ने व्यक्तिहरूमा औसत १६.६ प्रतिशत तौल घटेको पाइएको छ। करिब १,३०० सहभागीहरूमध्ये झन्डै एक तिहाइमा २० प्रतिशत वा सोभन्दा बढी तौल घटेको देखिएको थियो।

यो औषधि सन् २०२६ को जनवरीदेखि अमेरिकी बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ। पछिल्लो समय नाफा घट्ने चेतावनीका कारण सेयर मूल्यमा गिरावट बेहोरेको नोभो नोर्डिस्कका लागि यो नयाँ स्वीकृतिले ठूलो राहत दिने देखिएको छ।

हाल तौल घटाउने औषधिको बजारमा एली लिली जस्ता प्रतिस्पर्धी कम्पनीहरूसँग कडा प्रतिस्पर्धा छ। यस घोषणासँगै न्यूयोर्कको ‘आफ्टर-आवर्स’ कारोबारमा नोभो नोर्डिस्कको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com