ट्रम्पको दाबी: ‘ग्रीनल्याण्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अपरिहार्य’


प्रकाशित मिति : पुस ६, २०८२ सोमबार

फोटो : एएफपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि आवश्यक रहेको बताएका छन्। उनले अमेरिकाले ग्रीनल्याण्ड प्राप्त गर्नैपर्ने टिप्पणी गर्दै भने, “हामीलाई ग्रीनल्याण्ड खनिजका लागि मात्र होइन, मुख्यतया राष्ट्रिय सुरक्षाका लागि चाहिएको हो।” उनले उक्त क्षेत्रमा चिनियाँ र रुसी जहाजहरूको बढ्दो उपस्थिति सम्भावित खतरा हुनसक्ने समेत उल्लेख गरे।

जनवरीमा पुनः ह्वाइट हाउस फर्किएयता ट्रम्पले ग्रीनल्याण्डप्रतिको आफ्नो पुरानो चासोलाई निरन्तरता दिँदै आएका छन्। उनले यसको रणनीतिक अवस्थिति र प्राकृतिक स्रोतलाई अत्यन्त महत्त्वपूर्ण मान्दै आएका छन्। यति मात्र नभई, उनले ग्रीनल्याण्ड नियन्त्रणमा लिन बल प्रयोग गर्न सकिने सम्भावनालाई समेत पूर्ण रूपमा अस्वीकार गरेका छैनन्।

ग्रीनल्याण्ड डेनमार्कको अधिनमा रहेको एक अर्ध-स्वायत्त क्षेत्र हो, जसको जनसङ्ख्या करिब ५७ हजार छ। सन् १९७९ देखि यो क्षेत्र अर्ध-स्वायत्त भए पनि यसको रक्षा र परराष्ट्र नीति अझै डेनमार्ककै अधीनमा छ।

अधिकांश ग्रीनल्याण्डवासी भविष्यमा डेनमार्कबाट स्वतन्त्र हुन चाहन्छन्। तर, विभिन्न सर्वेक्षणहरूका अनुसार उनीहरू अमेरिकाको हिस्सा बन्ने कुराको भने कडा विरोधमा छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले ग्रीनल्याण्डका लागि लुइजियानाका रिपब्लिकन गभर्नर जेफ ल्यान्ड्रीलाई ‘विशेष दूत’ नियुक्त गरेपछि डेनमार्कसँग नयाँ कूटनीतिक तनाव उत्पन्न भएको छ। डेनमार्क सरकारले अमेरिकी राजदूतलाई बोलाएर यस विषयमा स्पष्टीकरण माग गर्ने जनाएको छ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले युरोपेली संघ डेनमार्क र ग्रीनल्याण्डका जनतासँग पूर्ण ऐक्यबद्धतामा रहेको बताएकी छन्।

गभर्नर ल्यान्ड्रीले सामाजिक सञ्जाल मा लेख्दै ग्रीनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउने “स्वेच्छिक भूमिकामा सेवा गर्न पाउनु गौरवको कुरा” भएको बताएका छन्।

विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण बरफ पग्लिँदै जाँदा आर्कटिक क्षेत्रमा नयाँ जलमार्गहरू खुल्न थालेका छन्। यसले खनिज स्रोतमा पहुँच बढाउनुका साथै यो क्षेत्रलाई रणनीतिक रूपमा झन् महत्त्वपूर्ण बनाएको छ।

ग्रीनल्याण्ड उत्तर अमेरिका र युरोपको बीचमा अवस्थित भएकाले अमेरिकी र नेटो को सुरक्षा योजनामा यसको भूमिका अहम् छ। दोस्रो विश्वयुद्धदेखि नै अमेरिकाले यहाँ सैन्य आधार सञ्चालन गर्दै आएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com