अस्ट्रेलियापछि दक्षिण अफ्रिकामा गोलीकाण्ड: ९ जनाको मृत्यु


प्रकाशित मिति : ६ पुस २०८२, आइतबार

फोटो : रासस

दक्षिण अफ्रिकाको एक मद्यपानस्थल (टेभर्न) मा भएको अन्धाधुन्ध गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार जोहानेसबर्ग नजिकैको बेकर्सडाल क्षेत्रमा दुईवटा सवारीसाधनमा आएका करिब १२ जना अज्ञात हतियारधारीले अन्धाधुन्ध गोली चलाएका थिए।

मृतकमध्ये ७ पुरुष र २ महिला रहेका छन्। आक्रमणकारीहरूले मानिसहरू ज्यान जोगाउन भाग्न थालेपछि पनि अनियन्त्रित रूपमा गोली प्रहार गरिरहेका थिए।

दक्षिण अफ्रिका विश्वमै उच्च हत्या दर भएका देशहरूमध्ये एक हो। प्रहरी तथ्याङ्कअनुसार यस वर्ष अप्रिलदेखि सेप्टेम्बरसम्मको अवधिमा औसतमा दैनिक ६३ जनाको हत्या भएको छ।

यस्ता हत्याहरू प्रायः रिसइबी, डकैती र आपराधिक गिरोहबीचको हिंसाका कारण हुने गरे पनि पछिल्लो आक्रमणको उद्देश्य अझै स्पष्ट हुन सकेको छैन।

घटनास्थल पुगेका प्रान्तीय प्रहरीका उप-आयुक्त मेजर जनरल फ्रेड केकानाका अनुसार आक्रमणकारीहरूले पिस्तोल र एके-४७ राइफल प्रयोग गरेका थिए। कुनै उक्साहटबिनै गरिएको यस आक्रमणबारे उनले भने, “बेकर्सडालमा राति गोली चल्नु सामान्य जस्तै भइसकेको छ।”

दक्षिण अफ्रिकामा करिब ३० लाख वैध बन्दुक दर्ता छन् भने कम्तीमा त्यति नै संख्यामा अवैध हतियार रहेको अनुमान गरिएको छ। यसै महिनाको सुरुमा प्रिटोरिया नजिकैको एक होस्टलमा एक बालकसहित ११ जनाको गोली हानी हत्या गरिएको थियो।

‘गन फ्री साउथ अफ्रिका’ अभियानका अनुसार सन् २०२० यता सामूहिक गोलीकाण्डका घटनामा उल्लेख्य वृद्धि भएको छ। चार वा सोभन्दा बढी व्यक्ति मारिएमा वा घाइते भएमा त्यसलाई ‘सामूहिक गोलीकाण्ड’ मान्ने गरिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संस्थाकी अनुसन्धानकर्ता क्लेयर टेलरका अनुसार सन् २०२४ मा मात्रै यस्ता ८० वटा घटना दर्ता भएका थिए, जुन अघिल्लो वर्ष ७१ थियो। यद्यपि, सन् २०२५ मा भने यस्ता घटनामा केही कमी आएको बताइएको छ।

प्रहरीका अनुसार यस्ता गोलीकाण्डहरू प्रायः अनुमति प्राप्त टेभर्न वा ‘शिबिन’ भनिने अवैध मद्यपानस्थलहरूमा हुने गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com