बोण्डाई बीच गोलीकाण्डपछि अस्ट्रेलियाद्वारा प्रहरी र गुप्तचर निकायको समीक्षा गर्ने घोषणा


प्रकाशित मिति : ६ पुस २०८२, आइतबार

फोटो : डेविड ग्रे / एएफपी

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले प्रहरी र राष्ट्रिय गुप्तचर निकायहरूको विस्तृत समीक्षा (रिभ्यु) गर्ने घोषणा गरेका छन्। गत साता सिड्नीको बोण्डाई बीचमा भएको भीषण आक्रमणपछि सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन यो कदम चालिएको हो।

गत आइतबार भएको उक्त आतङ्ककारी घटनाले देशको सुरक्षा वातावरण कति छिटो परिवर्तन भइरहेको छ भन्ने कुरालाई उजागर गरेको प्रधानमन्त्री अल्बानीजले बताए।

उनले ‘इस्लामिक स्टेट’ जस्ता समूहहरूबाट सिर्जित खतरालाई लक्षित गर्दै सुरक्षा निकायहरू यस्ता चुनौतीको सामना गर्न पूर्ण रूपमा सक्षम हुनुपर्नेमा जोड दिए।

डिसेम्बर १४ (आइतबार) सिड्नीको बोण्डाई बीचमा आयोजित यहूदी पर्वका क्रममा दुई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए। उक्त आक्रमणमा १५ जनाको ज्यान गएको थियो। प्रहरीले यसलाई “आतङ्कवादी घटना” घोषणा गरेको छ।

प्रहरीका अनुसार उक्त आक्रमण ‘इस्लामिक स्टेट’ को विचारधाराबाट प्रेरित बाबु–छोराको जोडीले गराएका हुन्।

अभियुक्त २४ वर्षीय नविद अकराममाथि १५ वटा हत्या र एक आतङ्कवादी कार्यसहित कुल ५९ वटा अभियोग लगाइएको छ। उनका पिता साजिदको भने आक्रमणकै क्रममा मृत्यु भएको थियो।

प्रधानमन्त्री अल्बानीजका अनुसार यो गुप्तचर समीक्षा सन् २०२६ अप्रिलसम्म पूरा गरिनेछ। यसले विशेष गरी चरमपन्थसँग जुध्न राज्यका संयन्त्रहरू कति सक्षम छन् भन्ने कुरामा केन्द्रित रहनेछ।

झन्डै तीन दशकयताकै अस्ट्रेलियाको सबैभन्दा घातक सामूहिक गोलीकाण्डपछि सरकारले बन्दुक राख्ने सम्बन्धी कानुनलाई अझ कडा बनाइने,न्यु साउथ वेल्स राज्यले घृणासम्बन्धी अभिव्यक्तिविरुद्ध थप कडा कानुन ल्याउने तयारी गरिरहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com