अमेरिकाद्वारा सिरियामा ‘आईसीस’ विरुद्ध सैन्य आक्रमण सुरु गरेको घोषणा


प्रकाशित मिति : पुस ३, २०८२ शुक्रबार

a couple of airplanes flying in the sky

अमेरिकाले सिरियामा सैन्य आक्रमण सुरु गरेको छ। सिरियामा सक्रिय इस्लामिक स्टेट (आईसीस) विरुद्ध सैन्य कारबाही सुरु गरिएको अमेरिकाले घोषणा गरेको हो।

सिरियामा रहेका अमेरिकी सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणको जवाफमा यो कारबाही थालिएको अमेरिकी पक्षको दाबी छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार लडाकु जेट, आक्रमणकारी हेलिकप्टर र तोपखानाको प्रयोग गरी मध्य सिरियाका विभिन्न स्थानमा रहेका ७० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको छ। यस अभियानमा जोर्डनका विमानहरू पनि सहभागी थिए।

सेन्टकमले १०० भन्दा बढी सटीक (प्रेसिजन) हतियार प्रयोग गरी आईसीसका पूर्वाधार र हतियार भण्डारण स्थलहरूलाई निशाना बनाइएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आईएसका गढहरूमा निकै कडा प्रहार भइरहेको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले डिसेम्बर १३ मा पाल्माइरा सहरमा भएको आईसीसको आक्रमणको स्मरण गरेका छन्, जसमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक दोभाषे मारिएका थिए।

सेन्टकमले सामाजिक सञ्जाल ‘एक्स’ मा जारी गरेको विज्ञप्तिअनुसार यस अभियानलाई ‘अपरेसन हकआई स्ट्राइक’ नाम दिइएको छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले यो युद्धको सुरुवात नभई बदलाको घोषणा भएको बताए।

संसारको जुनसुकै ठाउँमा रहेका अमेरिकीहरूलाई कसैले निशाना बनाउँछ भने उसले बाँकी जीवन डर र चिन्तामा बिताउनुपर्ने चेतावनी उनले दिए। अमेरिकीहरूलाई मार्ने जोकोहीलाई पनि अमेरिकाले खोजेर र फेला पारेर निर्ममतापूर्वक मार्ने उनको दाबी छ।

ट्रम्पले ‘ट्रुथ सोसल’मा लेख्दै सिरियाली सरकार यस कारबाहीमा “पूर्ण रूपमा समर्थक” रहेको दाबी गरे। यता, बेलायतस्थित ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ले रक्का र देइर एज़ जोर नजिकका आईसीस ठेगानाहरूमा आक्रमण भएको जनाएको छ।

उक्त संस्थाका अनुसार एकजना प्रमुख आईसीस नेता र कैयौँ लडाकुहरू मारिएका छन्। आईसीसले अहिलेसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।

यसअघि सेन्टकमले पाल्माइरामा भएको आक्रमण एक आईएस बन्दुकधारीले गरेको र सो व्यक्ति मारिएको बताएको थियो। उक्त घटनामा तीन अमेरिकी सैनिक घाइते भएका थिए। पेन्टागनका एक अधिकारीले यो आक्रमण “सिरियाली राष्ट्रपतिको नियन्त्रण बाहिरको क्षेत्रमा” भएको बताएका छन्।

सन् २०१९ मा अमेरिकी समर्थन प्राप्त सिरियाली लडाकुहरूको गठबन्धनले आईसीसले सिरियामा नियन्त्रण गरेको अन्तिम भूभाग गुमाएको घोषणा गरेको थियो। तर त्यसपछि पनि आईसीसले आक्रमणहरू जारी राखेको छ।

संयुक्त राष्ट्रसंघका अनुसार हाल पनि सिरिया र इराकमा आईसीसका ५,००० देखि ७,००० लडाकुहरू सक्रिय छन्। आईसीस विरुद्धको अभियानअन्तर्गत अमेरिकी सेना सन् २०१५ देखि सिरियामा रहँदै आएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com