ब्राउन विश्वविद्यालय गोलीकाण्ड अपडेट: संदिग्ध मृत फेला, कारण खोज्दै प्रहरी


प्रकाशित मिति : पुस २, २०८२ बिहीबार

फोटो ; एपी/रासस

अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा संलग्न भएको आशंका गरिएका व्यक्ति मृत फेला परेका छन्। उक्त घटनामा दुई जना विद्यार्थीको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए।

अधिकारीहरूका अनुसार गोलीकाण्डका मुख्य संदिग्धले बिहीबार राति आत्महत्या गरेका हुन्। ती व्यक्ति बिहीबार साँझ न्यू ह्याम्पशायरको सेलेमस्थित एक भण्डारण केन्द्रमा मृत अवस्थामा फेला परेका थिए।

उनीमाथि बोस्टन नजिकैको घरमा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका एक प्राध्यापकको हत्या गरेको समेत आशंका गरिएको थियो।

प्रोभिडेन्स, रोड आइल्याण्डका प्रहरी प्रमुख ओस्कर पेरेजले पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार, गोलीकाण्डमा संलग्न ४८ वर्षीय क्लाउडियो नेभिस भालेन्टीले आत्महत्या गरेका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संघीय अनुसन्धान ब्युरो ले दोषीको पहिचान, पक्राउ र सजाय दिलाउन सहयोग पुर्‍याउने सूचना दिने व्यक्तिलाई ५०,००० अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।

ब्राउन विश्वविद्यालयकी अध्यक्ष क्रिस्टिना हल प्याक्सनले संदिग्ध भालेन्टी विश्वविद्यालयका पूर्व विद्यार्थी रहेको पुष्टि गरेकी छिन्। उनका अनुसार भालेन्टी ब्राउन विश्वविद्यालयमा भौतिकशास्त्र विषयमा ‘मास्टर अफ साइन्स–पीएचडी’ कार्यक्रममा अध्ययनरत थिए।

उनी सन् २००० सेप्टेम्बरदेखि २००१ अप्रिलसम्म भर्ना भई अध्ययनमा संलग्न थिए। पछि सन् २००३ जुलाईमा उनले औपचारिक रूपमा विश्वविद्यालयबाट आफ्नो नाम हटाएका थिए।

अध्यक्ष प्याक्सनका अनुसार, भालेन्टीले विश्वविद्यालयमा रहँदा भौतिकशास्त्रका कक्षाहरू मात्र लिएका थिए। ती कक्षाहरू प्रायः ‘बारुस एन्ड होली इन्जिनियरिङ तथा भौतिकशास्त्र भवन’ मा सञ्चालन हुन्थे, जहाँ हालैको गोलीकाण्ड भएको थियो। हाल उनको विश्वविद्यालयसँग कुनै पनि सक्रिय सम्बन्ध नरहेको प्याक्सनले स्पष्ट पारेकी छिन्।

उक्त घटनामा विद्यार्थीहरू एल्ला कुक र मुखम्मद अजिज उमुर्जोकोभको मृत्यु भएको थियो। एल्ला कुक अलाबामाकी बासिन्दा र ब्राउन विश्वविद्यालयकी दोस्रो वर्षकी छात्रा थिइन्। उनी ‘ब्राउन कलेज रिपब्लिकन्स अफ अमेरिका’ च्याप्टरकी उपाध्यक्ष समेत थिइन्।

उज्बेकिस्तानका नागरिक उमुर्जोकोभ ब्राउनका प्रथम वर्षका विद्यार्थी थिए र उनी न्युरोसर्जन बन्ने सपनाका साथ अध्ययन गरिरहेका थिए।  

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com