अमेरिकी सेनालाई १,७७६ डलरको चेक दिने ट्रम्पको घोषणा
प्रकाशित मिति : पुस १, २०८२ बुधबार
फोटो : एएफपी/रासस
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाका सदस्यहरूलाई सम्मानस्वरूप नगद चेक दिने घोषणा गरेका छन्। देशको स्थापना वर्षको सम्मानमा उनले प्रत्येक सैनिकलाई १,७७६ डलर प्रदान गर्ने घोषणा गरेका हुन्।
उनले यो भुक्तानीलाई “योद्धा लाभांश” नाम दिएका छन्। राष्ट्रका नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै ट्रम्पले झन्डै १४ लाख ५० हजार सैन्य सेवा सदस्यहरूले यस वर्षको क्रिसमसअघि नै यो विशेष भुक्तानी पाउने बताएका छन्।
सम्बोधनका क्रममा उनले भने, “अमेरिकाको स्थापना वर्ष १७७६ को सम्मानमा हामी प्रत्येक सैनिकलाई १,७७६ डलर पठाउँदैछौँ।” ट्रम्पले यो रकम वैदेशिक आयातमा लगाइएको भन्सार शुल्क (ट्यारिफ) बाट संकलन भएको आम्दानीका कारण सम्भव भएको स्पष्ट पारेका छन्।
“ट्यारिफका कारण हामीले अनुमान गरेभन्दा धेरै आम्दानी गरेका छौँ। यो रकमका लागि हाम्रा सेनाभन्दा बढी हकदार अरू कोही छैनन्, म सबैलाई बधाई दिन चाहन्छु,” ट्रम्पले थपे।
अमेरिकी सेनाअन्तर्गत थलसेना, नौसेना, वायुसेना, मरीन कोर र कोस्ट गार्ड पर्दछन्। अमेरिकामा सन् १७७६ जुलाई ४ मा बेलायतबाट स्वतन्त्रता घोषणा गरेको ऐतिहासिक दिनलाई स्थापना दिवस वा स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिन्छ।





