अमेरिकी राष्ट्रपतिको देशवासीलाई सम्बोधन : मूल्यवृद्धिको मुख्य कारण पूर्ववर्ती डेमोक्र्याट सरकार


प्रकाशित मिति : पुस १, २०८२ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भइरहेको मूल्यवृद्धिको दोष डेमोक्र्याटहरूलाई लगाएका छन्।

ह्वाइट हाउसबाट देशवासीलाई सम्बोधन गर्दै उनले आफ्ना उपलब्धिहरूको चर्चा गरे। सो क्रममा उनले मूल्यवृद्धिको सम्पूर्ण दोष पूर्ववर्ती डेमोक्र्याट सरकारमाथि थोपरेका हुन्।

आगामी वर्ष हुने मध्यावधि निर्वाचनको तयारीमा आफ्नो पार्टी जुटिरहेका बेला राष्ट्रपतिको यो सम्बोधन आएको हो।

ट्रम्पले आफ्नो प्रारम्भिक वक्तव्यमा भनेका छन्, “एघार महिनाअघि मैले अस्तव्यस्त अवस्था सम्हालेको थिएँ, अहिले म त्यसलाई सुधार्दै छु।” रिपब्लिकन राष्ट्रपति ट्रम्पले यस वर्ष आफ्नो प्रशासनले सीमाबाट हुने अवैध आवागमन घटाउनेदेखि केही वस्तुहरूको मूल्य कम गर्नेसम्मका काम गरेको दाबी गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनतामा बढ्दो जीवनयापन खर्चबारे चिन्ता रहे पनि ट्रम्पले उक्त मुद्दालाई पटक–पटक “डेमोक्र्याटहरूको बनावटी कथा” भन्दै आएका छन्। उनले बजारमा मूल्य अझै उच्च रहेको स्वीकार गरे तापनि पूर्व राष्ट्रपति जो बाइडेन नेतृत्वको अघिल्लो प्रशासनलाई नै यसको जिम्मेवार ठहर्‍याएका छन्। उनले उच्च मूल्यहरू छिटो घटाउने दाबी समेत गरे।

आगामी नोभेम्बरमा हुने निर्वाचनमा रिपब्लिकनहरू प्रतिनिधि सभा र सिनेटमा आफ्नो नियन्त्रण कायम राख्न चाहन्छन्। उता डेमोक्र्याटहरूले भने जीवनयापन खर्च र स्वास्थ्य सेवा नीतिमा देखिएको मतभेदलाई प्रमुख मुद्दा बनाउँदै सत्ता फिर्ता लिने रणनीति बनाएका छन्।

बाइडेनको चार वर्षे कार्यकालमा भएको उच्च मुद्रास्फीतिले ट्रम्पलाई गत वर्षको चुनावमा पूर्व उपराष्ट्रपति कमला ह्यारिसलाई हराउन सहयोग पुर्‍याएको थियो। तर, यस वर्ष ट्रम्पका ‘ट्यारिफ’ (भन्सार शुल्क) नीतिहरूले अर्थतन्त्रमा अनिश्चितता बढाएको छ, जसले केही दैनिक उपभोग्य वस्तुको मूल्य बढाएको विश्लेषण गरिएको छ।

नयाँ सर्वेक्षणअनुसार अमेरिकी वयस्कहरूमध्ये केवल ३३ प्रतिशतले मात्र ट्रम्पको आर्थिक कार्यशैलीलाई अनुमोदन गरेका छन्। ट्रम्पको सम्बोधन प्रायः प्रयोग हुने ओभल अफिसबाट नभई ह्वाइट हाउसको ‘डिप्लोम्याटिक रिसेप्सन रूम’ बाट गरिएको थियो।

सम्बोधनअघि सिनेटका शीर्ष डेमोक्र्याट तथा न्युयोर्कका सिनेटर चक शुमरले ट्रम्प आफ्ना चुनावी प्रतिबद्धता पूरा गर्न असफल भएको आरोप लगाएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com