अमेरिकामा अभिनेता पेरीको मृत्यु प्रकरण: चिकित्सकलाई आठ महिना ‘घरमै नजरबन्द’ को सजाय


प्रकाशित मिति : मंसिर ३०, २०८२ मंगलबार

अमेरिकामा ‘फ्रेन्ड्स’ अभिनेता म्याथ्यु पेरीको मृत्यु प्रकरणमा जोडिएका क्यालिफोर्नियाका एक चिकित्सकलाई सजाय सुनाइएको छ। पेरीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा स्यान डिएगोका चिकित्सक मार्क चाभेजलाई आठ महिना ‘घरमै नजरबन्द’ र तीन वर्ष निगरानीमा रहने सजाय सुनाइएको हो।

पेरीको मृत्युसँग सम्बन्धित मुद्दामा सजाय पाउने उनी दोस्रो व्यक्ति हुन्। सन् २०२३ मा लस एन्जलसस्थित आफ्नै घरमा पेरीको मृत्यु भएपछि लागुऔषधसम्बन्धी अभियोग स्वीकार गर्ने पाँच जनामध्ये चाभेज एक हुन्। यो प्रकरणमा संलग्न अर्का एक चिकित्सक र ‘किटामिन क्विन’ भनेर चिनिने एक ड्रग डिलर पनि छन्।

चाभेजलाई अधिकतम १० वर्षको संघीय जेल सजाय हुन सक्थ्यो। तर, अक्टोबर २०२४ मा भएको सम्झौता अनुसार उनले आफ्नो मेडिकल लाइसेन्स र पासपोर्ट बुझाइसकेका छन्।

डा. चाभेजले आफ्नो क्लिनिक र थोक औषधि आपूर्तिकर्ताबाट नक्कली (जालसाजीपूर्ण) प्रिस्क्रिप्सन प्रयोग गरी किटामिन प्राप्त गरेको र त्यसलाई अर्का चिकित्सक डा. साल्भाडोर प्लासेन्सियालाई बिक्री गरेको स्वीकार गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्लासेन्सियाले उक्त औषधि पेरीलाई उपलब्ध गराएका थिए। प्लासेन्सियालाई यसै महिनाको सुरुमा ३० महिनाको जेल सजाय सुनाइएको थियो।

पेरीको मृत्युबारे गरिएको लामो संघीय अनुसन्धानले हलिउडको भूमिगत लागुऔषध सञ्जालमार्फत उनले कसरी किटामिन प्राप्त गरे भन्ने विषयको खोजी गरेको थियो।

किटामिन शल्यक्रियामा प्रयोग हुने एक ‘एनेस्थेटिक’ हो, जुन चिन्ता र पीडाको उपचारमा पनि प्रयोग गरिन्छ। लागुऔषधको लत र डिप्रेसनसँग संघर्ष गर्दै आएका पेरीलाई उपचारका क्रममा कानुनी रूपमा किटामिन दिइएको थियो। तर, पछि उनले तोकिएको भन्दा बढी मात्रा खोज्न थालेका थिए।

पोस्टमार्टम रिपोर्टअनुसार पेरीको रगतमा किटामिनको मात्रा अत्यधिक भेटिएको थियो। उक्त पदार्थको “तीव्र प्रभाव” नै उनको मृत्युको कारण बनेको निष्कर्ष निकालिएको थियो।

अभियोजकहरूका अनुसार, पेरीका सहायक केनेथ इवामासाले चाभेज र प्लासेन्सियासँग मिलेर अभिनेताको मृत्यु हुनुअघिका अन्तिम केही सातामा ५० हजार अमेरिकी डलर बराबरको किटामिन उपलब्ध गराएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com