थाइल्याण्डको नेपाली दूतावासद्वारा ११ महिनामा २५७ को उद्धार, स्क्यामको केन्द्र म्यानमार


प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार

थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासले २०२५ को ११ महिना ११ दिनसम्ममा २५७ जनाको उद्धार गरी नेपाल फर्काइसकेको जानकारी दिएको छ। यो उद्धार थाइल्याण्डबाट मात्र नभई म्यानमार, लाओस, कम्बोडिया लगायतका देशबाट भएको हो। दूतावासका अनुसार विभिन्न अनलाइन प्लेटफर्महरू (फेसबुक, टिकटक, टेलिग्राम, लिंक्डइन आदि) मार्फत आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपाली युवा तथा महिलाहरूलाई म्यानमारका अवैध साइबर स्क्यामिङ केन्द्रहरूमा लगेर बन्धक बनाउने क्रम तीव्र रूपमा बढेको छ।

नेपाल सरकारले पटक–पटक जारी गरेको सूचना तथा चेतावनीका बाबजुद यो समस्या नियन्त्रणमा आउन सकेको छैन। पछिल्लो समय थाइल्याण्डस्थित नेपाली राजदूतावासको सक्रियतामा दर्जनौं नेपालीको उद्धार भएको छ, तर अझै सयौं अलपत्र परेका हुन सक्ने अनुमान छ।

स्क्यामरहरूले मुख्यतः सामाजिक सञ्जालमार्फत सम्पर्क गर्छन्। आकर्षक तलब (मासिक ७०० देखि १५०० डलरसम्म) को लोभ देखाएर थाइल्याण्ड वा अन्य देशमा “टुरिस्ट भिजिट” का नाममा लगिन्छ। त्यहाँबाट अवैध रूपमा म्यानमारका सीमावर्ती क्षेत्र (म्यावाडी, केके पार्क आदि) मा पुर्‍याइन्छ। पासपोर्ट खोसिन्छ र बन्धक बनाइन्छ। नेपाल प्रहरीको एन्टी–ह्युमन ट्राफिकिङ ब्यूरोका अनुसार यो एक “सफिस्टिकेटेड” अन्तर्राष्ट्रिय सिन्डिकेट हो, जसमा नेपाली दलालहरू पनि संलग्न छन्।

महिलाहरूको सन्दर्भमा यो समस्या झनै जोखिमपूर्ण छ। प्रलोभनमा परेर पुगेकी महिलाहरूलाई यौन शोषण, जबरजस्ती विवाह वा थप ट्राफिकिङको जोखिम हुन्छ। यद्यपि पछिल्ला उद्धारहरूमा महिलाको संख्या कम देखिए पनि समग्र मानव बेचबिखनमा नेपाली महिलाहरू बढी पीडित हुने तथ्यांक छ।

वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने झन्झटिलो प्रक्रिया र कम्पनीबाटै रोजगारदाताको माग हुनुपर्ने तथा धेरै समय लाग्ने अवस्थाले छोटो बाटो अपनाउने प्रवृत्ति बढाएको छ।

सामाजिक सञ्जाल वा साथीभाइको कुरामा विश्वास गरी जागिरको अफर आयो भन्दै लहैलहैमा लाग्ने प्रवृत्ति पनि बढेको छ। कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड जस्ता देशमा “टुरिस्ट भिजा” मा गएर काम सजिलै पाइन्छ भन्ने धारणा र सस्तो तथा सजिलो भिजाका कारण मानव तस्करीलाई सहज भएको दूतावासको बुझाइ छ। छिटो र धेरै पैसा कमाउने लोभले पनि तस्करहरूलाई सजिलो हुँदै गएको छ।

यसै सन्दर्भमा कुरा गर्दै राजदूत धनबहादुर ओलीले यो समस्या बढ्दै गएको बताए। “अहिलेको समयमा पढेलेखेका मानिसहरू नै यस्तोमा फसेका छन्। नेपालमै आईटी पढेर काम गरेर बुझेका व्यक्तिहरूले नै छोटो बाटो खोजेर छिटो पैसा कमाउन खोजिरहेका छन्। हामीले थाहा पाउने भनेको धेरै खराब अवस्थामा पुगेपछि मात्र हो,” ओलीले भने ।

“अहिले थाइल्याण्ड र कम्बोडियाबीच चलेको युद्धले पनि उद्धारमा समस्या निम्त्याएको छ। म्यानमारमा आफ्नै समस्या छ, जसले गर्दा उद्धारमा कठिनाइ भएको छ। यति मात्र होइन, हाम्रो सीमित स्रोत र साधनले गर्दा पनि सबै कुरामा छिटो एक्शन लिन सकिने अवस्था छैन। तर हामीले सकेसम्म दूतावासबाट परराष्ट्र सम्बन्धमार्फत समाधान गर्दै आएका छौं। यो समस्या वर्षेनी बढिरहेको छ,” राजदूत धनबहादुर ओलीको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही व्यक्ति दोहोरिएका छन्, जसले गर्दा नेपालबाट पनि अनुसन्धान गर्न जरुरी रहेको उनी बताउँछन्। नेपाल फर्काइएकाहरूले हालसम्म कुनै उजुरी गरेको छैनन्, जसले गर्दा नेपालमा कुनै अनुसन्धान भएको छैन। यसले यसको अवस्था कहाँ छ भन्ने पनि थाहा छैन। आवश्यकता परेकाहरूलाई थाहा भएर उद्धार गरिएको र बाँकी कति छन् थाहा नभएको ओलीले जानकारी दिए ।

उद्धार भएकाहरूका अनुसार उनीहरूलाई मानसिक तथा शारीरिक यातना दिइने र विभिन्न स्क्याममा लगाइने गरिन्छ। केही समयअघि नेपालीको मृत्युसहित उद्धार गरेको घटना पनि ताजा रहेको राजदूत धनबहादुर ओलीले जानकारी गराए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com