अदालतले ‘धोकेबाज’ भनेर सजाय सुनाएकालाई ट्रम्पले दिए क्षमादान


प्रकाशित मिति : मंसिर २६, २०८२ शुक्रबार

फोटो : एपी/रासस

अमेरिकामा भोटिङ मेसिनमा अनधिकृत व्यक्तिलाई पहुँच दिने योजना बनाएको आरोपमा जेल सजाय भोगिरहेकी कोलोराडोकी पूर्व काउन्टी क्लर्क टीना पिटर्सलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले क्षमादान दिएको घोषणा गरेका छन्।

यद्यपि, राष्ट्रपतिले दिने क्षमादान सामान्यतया सङ्घीय अपराधमा मात्र लागू हुन्छ भन्ने बुझाइ रहेको छ।

यसै साताको सुरुमा सङ्घीय मजिस्ट्रेट जजले पिटर्सलाई अपील प्रक्रिया चलिरहेकै अवस्थामा जेलबाट रिहा गर्न अस्वीकार गरेका थिए।

कोलोराडोका डेमोक्र्याटिक गभर्नर जारेड पोलिसले राष्ट्रपतिसँग राज्य कानुन उल्लङ्घन गरेको व्यक्तिलाई क्षमादान दिने अधिकार नभएको बताएका छन्। उनले यो विषय अदालतकै हातमा रहेको स्पष्ट पारेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले केही महिनादेखि पिटर्सको मुद्दामा चासो लिन थालेका थिए। उनले अगस्टमा यदि उनलाई राज्य हिरासतबाट छाडिएन भने कडा कदम चालिने चेतावनी दिएका थिए।

पूर्व काउन्टी क्लर्क पिटर्सलाई राज्य अदालतले गत वर्ष सात आरोपमा दोषी ठहर गरेको थियो।

सार्वजनिक सेवालाई प्रभावित गर्न कोशिश गरेको तीन मुद्दा र आपराधिक प्रतिरूपण गर्ने षड्यन्त्रसमेत आरोपमा समावेश थियो। उनलाई २०२४ को अक्टोबरमा सजाय दिइएको थियो।

अभियोजकहरूको आरोपअनुसार २०२१ मा पिटर्स र उनका केही सहयोगीहरूले मेसा काउन्टीका भोटिङ मेसिनमा अनधिकृत व्यक्तिलाई पहुँच दिने “धोकेबाजी योजना” बनाएका थिए। त्यसपछि मेसिनका चित्रहरू अनलाइन देखा परेका थिए।

न्यायाधीश म्याथ्यु बैरेटले पिटर्सलाई “धोकेबाज” र “यस अदालतले देखेका सबैभन्दा चुनौतीपूर्ण र अवज्ञाकारी प्रतिवादीमध्ये एक” भनेर चित्रित गरेका थिए। पिटर्सले भने आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएकी छन्।

ट्रम्पले डेमोक्र्याटहरूले निर्वाचनहरू निष्पक्ष र इमानदार छन् कि छैनन् भन्ने सुनिश्चित गर्न खोज्ने देशभक्त पिटर्स जस्तालाई लगातार निशाना बनाइरहेका आरोप लगाउँदै आएका छन्। तर, पिटर्सलाई भने एकजना निर्वाचित रिपब्लिकन जिल्ला एटर्नीले अभियोजन गरेका थिए।

पिटर्सका कानूनी प्रतिनिधि पीटर टिक्टिनले राष्ट्रपतिलाई राज्य–अपराधमा पनि क्षमादान दिने अधिकार हुनसक्ने सैद्धान्तिक सम्भावना रहेको बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com