रिपब्लिकन नै डेमोक्र्याटहरूसँग मिलेपछि इन्डियानामा ट्रम्पलाई झड्का
प्रकाशित मिति : मंसिर २५, २०८२ बिहीबार
अमेरिकाको इन्डियानामा नयाँ बनाइएको संसदीय नक्सा अस्वीकृत भएको छ । सिनेटले २०२६ को मध्यावधि चुनावमा रिपब्लिकनलाई फाइदा हुने गरी बनाइएको नयाँ नक्सा मतदानको प्रक्रियाबाटै अस्वीकार गरेको हो ।
यो नतिजाले महिनौँदेखि ह्वाइट हाउसले चलाइरहेको दबाब अभियानलाई ठाडै चुनौती दिएको छ । रिपब्लिकन सांसदहरू नै डेमोक्र्याटहरूसँग मिलेर यो परिवर्तनको विरोधमा उभिएका छन् । यो प्रक्रिया सामान्यतया जनसंख्या परिवर्तनका आधारमा १० वर्षमा एकपटक गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन नेताहरूलाई पार्टीलाई फाइदा हुने गरी निर्वाचन क्षेत्र पुनःनिर्धारण गर्न आग्रह गरेपछि देशभर नै पुनःनिर्धारणको लडाइँ शुरू भएको छ ।
रिपब्लिकनद्वारा सञ्चालित टेक्सास र डेमोक्र्याटद्वारा सञ्चालित क्यालिफोर्नियासहित धेरै राज्यहरूमा नक्सा पुनःनिर्धारणको प्रक्रिया अघि बढ्दैछ । यसअघि युटाह, ओहायो, न्यु ह्याम्पसायर, मिसौरी र इलिनोइसजस्ता राज्यहरूमा पनि पुनःनिर्धारण प्रयास शुरू भइसकेका छन् ।
गत हप्ता राज्यको प्रतिनिधि सभाबाट पारित नक्साले रिपब्लिकनलाई कम्तीमा दुई अतिरिक्त सिट दिलाउने सम्भावना थियो । तर बिहीबार सिनेटमा भएको मतदानमा १९–३१ को मतान्तरले प्रस्ताव अस्वीकृत हुन पुगेको हो । इन्डियानाका रिपब्लिकन गभर्नर माइक ब्राउनले यो नतिजाप्रति “धेरै निराश” भएको बताएका छन् ।
इन्डियानाका रिपब्लिकनहरूले ट्रम्पको कडा दबाबका बाबजुद प्रस्ताव अस्वीकार गरेका हुन् । ट्रम्पले प्रस्तावलाई समर्थन नगर्ने रिपब्लिकन सांसदहरूले आफ्नो सिट गुमाउन सक्ने चेतावनी दिएका छन् । राज्य सिनेटका नेता रड्रिक ब्रे नक्सा परिवर्तन प्रयासको विरोधमा उत्रिएका थिए ।
भोटअघि ट्रम्पले इन्डियानाका सांसदहरूलाई ह्वाइट हाउसमा बोलाएर दबाब दिएका थिए । उनले उपराष्ट्रपति जेडी भान्सलाई पनि दुईपटक इन्डियाना पठाएर समर्थन बढाउन प्रयास गरेका थिए । झन्डै दर्जनजति इन्डियानाका रिपब्लिकन सांसदहरूले भोटअघि आफूहरूलाई धम्की दिइएको खुलासा गरेका छन् ।






