रिपब्लिकन कार्यकर्ता कर्कका हत्या आरोपी पहिलोपटक अदालतमा उपस्थित
प्रकाशित मिति : मंसिर २५, २०८२ बिहीबार
फोटो: एपी/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक रिपब्लिकन कार्यकर्ता चार्ली कर्कको हत्याका आरोपिलाई अदालतमा उपस्थित गराइएको छ ।
गत सेप्टेम्बरमा युटाहमा रिपब्लिकन कार्यकर्ता कर्कको हत्या गरिएको आरोप लागेका टायलर रोबिन्सन पहिलोपटक प्रत्यक्ष रूपमा अदालतमा उपस्थित भएका हुन् ।
२२ वर्षीय रोबिन्सनका वकिल र युटाह काउन्टी शेरिफको कार्यालयले अदालतमा क्यामेरा प्रतिबन्ध लगाउन आग्रह गर्दै निष्पक्ष सुनुवाइ प्रभावित हुन सक्ने सबै कार्य रोक्न माग गरेका छन् ।
तर, कर्ककी श्रीमती र राष्ट्रिय तथा स्थानीय समाचार संस्थाहरूको गठबन्धनले पारदर्शिताका लागि माग गरिरहेकाले न्यायाधीशले अदालतभित्र क्यामेरा राख्न अनुमति दिएका थिए ।
आरोपीले गम्भीर हत्या लगायतका आरोपहरू सामना गरिरहेका छन् । यदि दोषी ठहरिए भने उनलाई मृत्युदण्ड पनि हुन सक्छ । तर, उनले अहिलेसम्म भने कुनै बयान दिएका छैनन् ।
कर्कलाई युटाह भ्याली विश्वविद्यालयमा खुला रूपमा आयोजना गरिएको कार्यक्रममा गोली हानिएको थियो । घटनापछि प्रहरीले खोजतलास बढाएपछि रोबिन्सन आफैँ प्रहरीसमक्ष उपस्थित भएका थिए । अधिकारीहरूका अनुसार उनले अपराध गरेको कुरा आफ्नै बुबासँग स्वीकार गरेका थिए ।
रोबिन्सनलाई हात र खुट्टामा हत्कडी तथा नेल (साङ्लो) लगाएर अदालतमा ल्याइएको थियो । शर्ट, टाई र पाइन्ट लगाएका उनी अदालतको अग्रपंक्तिमा बसेका आफ्ना परिवारजनतर्फ मुस्कुराइरहेका थिए । उनका आमा, बुबा र दाजु अदालतमा उपस्थित थिए ।
सुनुवाइको एक भाग अक्टोबरको बन्द सुनुवाइको अडियो र ट्रान्सक्रिप्ट समीक्षा गर्न केन्द्रित थियो । जसको विषयमा न्यायाधीश अझै अध्ययन गर्दैछन् ।
सुनुवाइको अर्को भाग भने सार्वजनिक रूपमा हेर्नका लागि अनलाइन स्ट्रिम गरिएको थियो । रोबिन्सनलाई जनवरी १६ मा फेरि अदालतमा उपस्थित गराइनेछ ।






