अमेरिकाको केन्टकीमा गोलीकाण्ड, विद्यार्थीको हत्या


प्रकाशित मिति : मंसिर २३, २०८२ मंगलबार

अमेरिकाको केन्टकी राज्यस्थित एक विश्वविद्यालयमा भएको गोलीकाण्डमा एकजना विद्यार्थीको मृत्यु भएको छ र अर्का एकजना गम्भीर घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार उक्त घटना केन्टकी स्टेट युनिभर्सिटी (केएसयु) मा भएको हो ।

घटनामा संलग्न भएको आशङ्कामा विश्वविद्यालयका विद्यार्थी नरहेका एक व्यक्तिलाई पक्राउ गरिएको फ्रान्कफोर्ट प्रहरीले जानकारी दिएको छ ।

विश्वविद्यालयले उक्त घटना क्याम्पसको दक्षिणतर्फ रहेको विद्यार्थी आवासगृहमा भएको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीका अनुसार यो गोलीकाण्ड लक्षित हमला  जस्तो देखिन्छ । यद्यपि, यो ठूलो सङ्ख्यामा गरिएको सामूहिक गोलीकाण्ड भने नभएको अनुमान गरिएको छ ।

केन्टकीका गभर्नर एन्डी बेशियरले सबैभन्दा पहिले घटनाको जानकारी दिँदै “हिंसाको राज्य वा देशमा कुनै स्थान छैन” भनी बताएका छन् ।

फ्रान्कफोर्ट प्रहरी विभाग, क्याम्पस प्रहरी र फ्रान्कलिन काउन्टी शेरिफ अफिसका अधिकारीहरू तत्काल घटनास्थलमा पुगेका थिए ।

हाल स्थानीय, राज्य र सङ्घीय निकायहरूले घटनाको संयुक्त अनुसन्धान गरिरहेको बताइएको छ । प्रहरीले मृतक र घाइतेको पहिचान खुलाएको छैन ।

विश्वविद्यालयले यस हप्ताका बाँकी सबै कक्षा, अन्तिम परीक्षा र क्याम्पस गतिविधिहरू रद्द गरेको छ । साथै, विद्यार्थीलाई घर फर्किने विकल्प पनि दिएको छ ।

करिब १,००० एकड क्षेत्रफलमा फैलिएको उक्त क्याम्पसमा करिब २,२०० विद्यार्थी तथा ४५० कर्मचारी र प्राध्यापकहरू कार्यरत छन् ।

अमेरिका विश्वका विकसित राष्ट्रहरूमध्ये एक भए पनि, गोलीकाण्ड देशको सबैभन्दा गम्भीर र दीर्घकालीन समस्याहरूमध्ये एक मानिन्छ ।

वर्षैभरि विद्यालयदेखि लिएर सुपरमार्केट, धार्मिक स्थल, कन्सर्ट, कार्यालय तथा सार्वजनिक स्थानहरूमा समेत गोलीकाण्डका घटनाहरू हुने गरेका छन् ।

विशेषगरी, अमेरिकामा हथियार बोक्ने स्वतन्त्रताका कारण साधारण नागरिकले पनि सजिलै बन्दुक किन्न पाउने व्यवस्था छ । यही कारणले धेरै विशेषज्ञहरूले हतियारमा सहज पहुँचलाई नै गोलीकाण्डको मुख्य कारणका रूपमा देखाउँछन् ।

सङ्घीय र राज्य सरकारहरूले विभिन्न स्तरमा सुरक्षा कडा पार्ने, पृष्ठभूमि जाँच कडा गर्ने, मानसिक स्वास्थ्य सेवामा सुधार गर्ने जस्ता प्रयास गरे पनि गोलीकाण्ड पूरै रोकिएको छैन ।

प्रत्येक घटनापछि जनस्तरमा आक्रोश बढ्छ र बन्दुक नियन्त्रणका विषयमा ठूलो बहस चल्ने गर्दछ ।

गोलीकाण्डका घटनाहरूले विद्यार्थी, शिक्षक, परिवार तथा समुदायहरूमा गहिरो मानसिक प्रभाव पारेको हुन्छ । धेरै अभिभावकहरू आफ्नो छोराछोरीलाई विद्यालय पठाउँदा पनि चिन्तित हुने गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com