अदालतको आदेशपछि न्यू जर्सीको संघीय अभियोजक पदबाट हाब्बाको राजीनामा


प्रकाशित मिति : मंसिर २२, २०८२ सोमबार

अमेरिकाको न्यू जर्सीकी यु.एस. अटर्नी (शीर्ष संघीय अभियोजक) पदबाट एलीना हाब्बाले राजीनामा दिएकी छन्।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकी व्यक्तिगत वकिल रहिसकेकी हाब्बाले राजीनामा दिएकी हुन्। योग्यतासम्बन्धी कानुनी विवादपछि उनले पदबाट राजीनामा दिएको बताइएको छ।

अमेरिकी न्यायमन्त्री प्याम बन्डीले हाब्बाको राजीनामा स्वीकृत गर्दै अदालतको “त्रुटिपूर्ण” फैसलाका कारण उनले राजीनामा दिनुपरेको बताइन्।

गत हप्ता अमेरिकी अपिल अदालतले हाब्बा अवैध रूपमा यु.एस. अटर्नी अर्थात् संघीय अभियोजकका रूपमा कार्यरत रहेको ठहर गरेको थियो। अदालतको निर्णय र हाब्बाको राजीनामाले न्यू जर्सीमा चलिरहेका धेरै आपराधिक मुद्दाहरूमा प्रभाव पार्ने सम्भावना छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बन्डीका अनुसार हाब्बा न्याय मन्त्रालयमै वरिष्ठ सल्लाहकारको रूपमा कार्यरत रहनेछिन्। उनले अदालतको उक्त निर्णयविरुद्ध पुनरावेदन गर्ने बताइएको छ। ट्रम्पले यसै वर्ष हाब्बालाई न्यू जर्सीका यु.एस. अटर्नी पदका लागि चयन गरेका थिए।

हाब्बाले अब देशभरका यु.एस. अटर्नीहरूका लागि सल्लाहकारको रूपमा काम गर्ने बताइन्। तर उनले छिट्टै न्यूजर्सी फर्कनेमा आशावादी रहेको धारणा व्यक्त गरिन्।

बन्डीले अदालतले राष्ट्रपतिको नियुक्तिलाई अवरोध गर्न नहुने भन्दै हाब्बाको कार्यकालमा अपराध २० प्रतिशतले घटेको र क्याम्डेनले ५० वर्षपछि पहिलोपटक हत्याविहीन गर्मी अनुभव गरेको बताइन्।

ह्वाइट हाउसमा बोल्दै ट्रम्पले “डेमोक्र्याट नभएको यु.एस. अटर्नी” लाई नियुक्त गर्न नदिएको दाबी गरेका छन्।

ट्रम्पले नियुक्त गरेका अरू धेरै यु.एस. अटर्नीहरू पनि सिनेट अनुमोदन प्रक्रिया छलेको आरोपमा अवैध ठहर भइरहेका छन्।

गत महिनामात्रै ट्रम्पकी अर्की वकिल लिन्डसी ह्यालिगन भर्जिनियामा हटाइएकी थिइन्। क्यालिफोर्निया, नेभाडा र अन्य राज्यहरूमा पनि यस्तै निर्णयहरू भएका छन्।

४१ वर्षीया हाब्बा २०२१ मा ट्रम्पको व्यक्तिगत कानुनी टोलीमा सहभागी भएकी थिइन्। गत वर्ष न्यूयोर्कको ‘हश मनी’ मुद्दामा ३४ आरोपमा दोषी ठहरिएका ट्रम्पको बचाउमा उनी अगाडि रहेकी थिइन्।

ट्रम्पले उनलाई आफ्नो “दोस्रो कार्यकाल” का लागि राष्ट्रपतीय सल्लाहकार बनाउने घोषणासमेत गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com