अमेरिकाले तयार पारेको शान्ति प्रस्ताव जेलेन्स्कीले अहिलेसम्म नपढेको ट्रम्पको आरोप


प्रकाशित मिति : मंसिर २२, २०८२ सोमबार

फोटो : मार्क शिफेलबीन/एपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाले तयार पारेको युद्ध अन्त्य गर्ने प्रस्ताव “अहिलेसम्म पढ्न पनि तयार नभएको” आरोप लगाएका छन्। फ्लोरिडामा अमेरिकी र युक्रेनी अधिकारीहरूबीच तीन दिनसम्म चलेको वार्तापछि ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो।

ट्रम्पले भने, “जेलेन्स्कीले प्रस्ताव पढेका छैनन् भन्ने कुरा केही घण्टा अघि मात्र मैले थाहा पाएँ। उनका सहयोगीहरूलाई प्रस्ताव मन परेको छ, तर उनलाई भने छैन।”

अमेरिकी र युक्रेनी अधिकारीहरूबीचको वार्ता कुनै स्पष्ट नतिजा बिना नै टुङ्गिएको थियो।

जेलेन्स्की लन्डनमा बेलायतका प्रधानमन्त्री कियर स्टार्मर तथा फ्रान्स र जर्मनीका नेताहरूसँग भेट्न गएका छन्। त्यहाँ वार्ताको मुख्य एजेन्डा अमेरिका–युक्रेनबीच जारी शान्ति वार्ता नै हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्टार्मरले बारम्बार “युक्रेनले आफ्नो भविष्य आफैँले निर्धारण गर्नुपर्छ” भन्दै आएका छन्।

उनले युरोपेली शान्ति–सेनाले युक्रेनको सुरक्षा सुनिश्चित गर्न “महत्वपूर्ण भूमिका” खेल्ने दाबी गरेका छन्।

अमेरिकाले युक्रेन–रूसबीच शान्ति सम्झौता अगाडि बढाउने प्रयास गरिरहेको छ।

अमेरिकी अधिकारीहरूले सम्झौता “अन्तिम चरण” मा पुगेको बताइरहेका छन्। तर युक्रेन र रूस दुवैले ट्रम्पको टिमले बनाएर दिएको ढाँचा–सम्झौतामा हस्ताक्षर गर्ने कुनै संकेत दिएका छैनन्।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने सार्वजनिक रूपमा अमेरिकी योजनाको समर्थन गरेका छैनन्। गत हप्ता उनले ट्रम्पको प्रस्तावका केही तत्वहरू “अव्यावहारिक” भएको बताएका थिए।

अमेरिकी प्रस्ताव नोभेम्बरमा पहिलोपटक बाहिरिएदेखि नै धेरैपटक संशोधन भइसकेको छ। पहिलो प्रस्तावलाई आलोचकहरूले “रूसप्रति धेरै नरम” भएको आरोप लगाएका थिए।

यसैबीच रूसले ट्रम्प प्रशासनले जारी गरेको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिको स्वागत गरेको छ।

रूसी प्रवक्ता दिमित्री पेस्कोभले उक्त दस्तावेज “मस्कोको दृष्टिकोणसँग धेरै मिल्दोजुल्दो” रहेको टिप्पणी गरे।

रणनीतिमा अमेरिकाले रूससँगको सम्बन्ध सुधार्न चाहेको उल्लेख छ। पछिल्ला वर्षहरूमा अमेरिका–रुस सम्बन्ध तनावपूर्ण बनेको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com