विपक्षी नेताको शङ्कास्पद मृत्युपछि भेनेजुएलाको आरोप : अमेरिकाले तेलको भण्डार कब्जा गर्न खोज्दैछ


प्रकाशित मिति : मंसिर २१, २०८२ आईतबार

भेनेजुएलाको हिरासतमा विपक्षी नेताको मृत्यु भएपछि अमेरिकाले कडा आपत्ति जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयले यस घटनालाई राष्ट्रपति निकोलस मदुरोको शासनको “निन्दनीय स्वभावको सम्झना” भन्दै विरोध व्यक्त गरेको छ।

कराकसको एल हेलिकोइडे जेलमा एक वर्षभन्दा बढी समयदेखि थुनामा रहेका विपक्षी नेता अल्फ्रेडो डियाजको शङ्कास्पद रूपमा मृत्यु भएको हो। मानवअधिकारवादी समूह र विपक्षी दलहरूले उनी आफ्नो कोठामा मृत फेला परेको बताएका छन्।

भेनेजुएली सरकारले ५६ वर्षीय डियाजलाई हृदयघातको लक्षण देखिएपछि अस्पताल पुर्‍याइएको र उनको त्यहीँ मृत्यु भएको दाबी गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो घटना ट्रम्प प्रशासन र मदुरोबीचको सम्बन्ध चर्किएको समयमा आएको हो। मदुरोले अमेरिकाले आफ्नो सरकारलाई उल्टाउने प्रयास गरेको आरोप लगाउँदै आएका छन्।

पछिल्ला महिनाहरूमा अमेरिकाले यस क्षेत्रमा सैन्य उपस्थिति बढाएको छ। लागूपदार्थ तस्करीमा प्रयोग हुने दाबी गरिएका डुङ्गाहरूमाथि अमेरिकाले घातक आक्रमणहरूसमेत गर्दै आएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोलाई लागूपदार्थ कार्टेलको प्रमुखको नेतृत्व गरेको आरोप लगाउँदै “स्थलमार्गबाट पनि” सैन्य कारबाहीको चेतावनी दिएका छन्। यद्यपि, मदुरोले ती सबै आरोप अस्वीकार गरेका छन्।

अमेरिकी विदेश मन्त्रालयको ब्युरोले डियाजलाई “मनपरी” र “यातना केन्द्र” मा थुनिएको बताएको छ।

भेनेजुएलाको मानवअधिकार संस्थाले देशमा राजनीतिक बन्दीहरूको दयनीय अवस्थाबारे चिन्ता व्यक्त गरेको छ।

संस्थाका अध्यक्ष अल्फ्रेडो रोमेरोले २०१४ यता १७ जना राजनीतिक बन्दीले जेलमा ज्यान गुमाइसकेको बताएका छन्।

ट्रम्पले लागूपदार्थ र आप्रवासीको प्रवाह रोक्ने नाममा भेनेजुएलामाथि कडा कदम चालेका छन्। क्यारिबियन र प्यासिफिकमा गरिएका अमेरिकी हवाई आक्रमणमा ८० भन्दा बढी मानिस मारिएका छन्।

ट्रम्पले मदुरोलाई “कारागार र मानसिक अस्पताल खाली गरेर मानिसहरू अमेरिकातर्फ पठाएको” आरोप लगाएका छन्।

मदुरो भने अमेरिकाले लागूपदार्थ नियन्त्रणको बहानामा आफ्नो समाजवादी सरकार ढाल्न तथा देशका विशाल तेल भण्डार कब्जा गर्न चाहेको आरोप लगाउँछन्।

अमेरिकाले दशकौँ पछिको सबैभन्दा ठूलो नौसैनिक शक्ति र हजारौँ सैनिक यस क्षेत्रमै तैनाथ गरेको छ। प्रत्युत्तरस्वरूप, भेनेजुएलाली सेनाले शनिबार ५,६०० भन्दा बढी सैनिकलाई एकैपटक शपथ गराएको बताइएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com