अमेरिकी सांसदद्वारा ‘आइस’ का अधिकारीले आफूमाथि पेपर स्प्रे प्रहार गरेको आरोप: प्रशासनको जवाफ के छ ?


प्रकाशित मिति : मंसिर १९, २०८२ शुक्रबार

फोटो:एपी/रासस

अमेरिकी एकजना महिला सांसदले इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का अधिकारीहरूले आफूमाथि पेपर स्प्रे प्रहार गरेको आरोप लगाएकी छिन्।

प्रतिनिधिसभा सदस्य अडेलिता ग्रिजाल्वाले एरिजोनाको टक्सनमा भएको आइस को छापामार्ने क्रममा आफूमाथि पेपर स्प्रे प्रहार गर्दै धकेलिएको बताइन्। उनका यी दाबीहरूलाई डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले भने अस्वीकार गरेको छ।

पेपर स्प्रे एक प्रकारको आत्म–रक्षा तथा भीड नियन्त्रणका लागि प्रयोग गरिने रासायनिक स्प्रे हो। यसमा क्याप्साइसिन नामक पदार्थ हुन्छ, जुन खुर्सानी बाट निकालिन्छ। पेपर स्प्रे आँखामा वा अनुहारमा परेपछि आँखामा जलन हुने,आँसु आउने,अस्थायी रूपमा हेर्न नसक्ने,छाला पोल्ने,खोकी र सास फेर्न गाह्रो हुने जस्ता असर हुन्छन् । यी प्रभाव केही मिनेटदेखि केही घन्टासम्म रहन सक्छन्।

एरिजोनाकी डेमोक्र्याट ग्रिजाल्वाले ‘एक्स’ (पहिलेको ट्विटर) मा पोस्ट गरिएको भिडियोमा घटना उनी नियमित जाने रेस्टुराँ नजिक भएको उल्लेख गरेकी छिन्। उनले त्यहाँ अधिकांशको मुख छोपेका “झन्डै ४० जना आइस एजेन्टहरू, धेरै गाडीहरूमा” देखेको बताएकी छिन्। ग्रिजाल्वाले भनिन्, “त्यही बेला एकजना आक्रामक एजेन्टले मेरो अनुहारमा पेपर स्प्रे गरे र अरूले पनि धकेले,” तर पनि आफू भने घटनापछि आक्रामक नभएको उनले दाबी गरिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“म त केवल स्पष्टीकरण मागिरहेकी थिएँ, जुन एक कांग्रेस सदस्यका रूपमा मेरा अधिकार हुन्,” उनले भनिन्।

तर, डीएचएस की प्रवक्ता ट्रिसिया म्याकलफ्लिनले ‘एक्स’ मा प्रतिक्रिया दिँदै ग्रिजाल्वाका दाबीहरू गलत भएको बताएकी छिन्। उनलाई पेपर स्प्रे गरिएको थिएन। तर, प्रहरीले अवरोध र आक्रमण गरिरहेका व्यक्तिलाई नियन्त्रण गर्न पेपर स्प्रे गरेको स्थानमा भने उनी रहेको म्याकलफ्लिनले भनेकी छिन्।

सांसद ग्रिजाल्वाले कांग्रेस सदस्य भनेर परिचय गराएपछि स्थिति शान्त हुने अपेक्षा आफूले गरेको बताइन्। उनले अधिकांश एजेन्टहरू अशिष्ट र अनादरपूर्ण व्यवहार गर्ने खालका रहेको बताइन्।

सांसदजस्तो व्यक्तिलाई यस्तो व्यवहार गर्ने आइस का एजेन्टहरूले अरूलाई कस्तो व्यवहार गरिरहेका होलान् भनेर कल्पना समेत गर्न नसकिरहेको उनले बताइन्। ग्रिजाल्वाले ट्रम्प प्रशासनको आप्रवासन नीति र छापामार्ने शैलीको कडा आलोचना गरेकी छिन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com