पूर्वी प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, ४ जनाको मृत्यु


प्रकाशित मिति : मंसिर १८, २०८२ बिहीबार

a large ship in the water

अमेरिकी सेनाले गरेको आक्रमणमा ४ जनाको मृत्यु भएको छ। पूर्वी प्रशान्त महासागरमा शंकास्पद लागूऔषध बोकेको डुङ्गामाथि अमेरिकी सेनाले हमला गरेको हो। उक्त हमलामा डुङ्गामा सवार चारै जनाको मृत्यु भएको अमेरिकी साउदर्न कमान्डले जनाएको छ।

सेनाले अन्तर्राष्ट्रिय जलसिमानामा एक ‘तोकिएको आतङ्कवादी सङ्गठन’  द्वारा सञ्चालन गरिएको डुङ्गामाथि घातक प्रहार गरेको बताएको छ।

अमेरिकी दाबीअनुसार, डुङ्गामा अवैध लागूऔषध रहेको र त्यो पूर्वी प्रशान्त क्षेत्रमा परिचित लागूऔषध तस्करी मार्गबाट यात्रा गरिरहेको पुष्टि भएको थियो। मारिने सबै जना पुरुष रहेका छन्। यो आक्रमण सेप्टेम्बरमा गरिएको एउटा विवादास्पद आक्रमण पछिको हो।

कुनै प्रकारको प्रतिरोध गर्न नसक्ने अवस्थाका जीवित रहेका चालक दलका सदस्यहरूमाथि पनि दोहोरो प्रहार गरेको भन्दै उक्त आक्रमणका विषयमा अमेरिकी सेनाको आलोचना भइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘अपरेसन सदर्न स्पिअर’ नाम दिइएको उक्त अभियानअन्तर्गत अहिलेसम्म २३ वटा शंकास्पद लागूऔषध बोकेका डुङ्गामाथि गरिएका प्रहारमा कम्तीमा ८७ जनाको मृत्यु भइसकेको छ।

ट्रम्प प्रशासनले यो अभियान लागूऔषध तस्करी नियन्त्रणका लागि गरिएको बताउँदै आएको छ। ट्रम्पले पछिल्ला दिनहरूमा अमेरिकी सेना भेनेजुएलाभित्रका लक्ष्यहरूमा पनि प्रहार गर्न सक्ने सङ्केत गरेका छन्।

अमेरिकाले स्थल आक्रमणको तयारी गरेको भन्दै भेनेजुएलाका प्रधानमन्त्रीले कडा प्रतिक्रिया दिइरहेका छन्। केही दिन पहिला भेनेजुएलाले पनि सैन्य शक्ति प्रदर्शन गरेको थियो।

अमेरिकाले क्यारेबियन सागर क्षेत्रमा सैन्य शक्ति केन्द्रित गरेको छ र युद्धपोतहरू तैनाथ गरेको छ। लागूऔषध कारोबारीलाई निशाना बनाउने बताउँदै आएको भए तापनि अमेरिकाले भेनेजुएलामा सत्ता परिवर्तन गर्न खोजिरहेको आरोप लाग्दै आएको छ। अहिलेको सत्तासँग अमेरिकाको सम्बन्ध तनावपूर्ण रहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com