दश हजार लगानीकर्तालाई ठगेका दोषीलाई दिए राष्ट्रपति ट्रम्पले क्षमादान


प्रकाशित मिति : मंसिर १६, २०८२ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठगीका दोषीको सजाय घटाएर क्षमादान दिएपछि ती व्यक्ति रिहा भएका छन्। उनले पूर्व लगानी प्रबन्धक डेभिड जेन्टाइलको सात वर्षे जेल सजाय घटाएर क्षमादान दिएपछि उनी कारागारमुक्त भएका हुन्।

सात वर्ष जेल सजाय तोकिएपछि जेन्टाइललाई कारागार चलान गरिएको थियो। तर ट्रम्पले सजाय घटाएपछि उनी २ सातामै मुक्त भएको बताइएको छ।

जीपीबी क्यापिटलका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी जेन्टाइललाई गत वर्ष निजी इक्विटी फण्डहरूको प्रदर्शनबारे गलत जानकारी दिई १०,००० भन्दा बढी लगानीकर्तालाई ठगेको अभियोगमा दोषी ठहर गरिएको थियो। संघीय अभियोजकहरूले यो घटनालाई गम्भीर ठगीको रूपमा लिएका थिए।

जेन्टाइललाई गत वर्ष अगस्टमा सेक्युरिटीज तथा वायर फ्रडको आरोपमा दोषी ठहर गर्दै यस वर्ष मेमा सजाय सुनाइएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेन्टाइलको सजाय सुनाउने बेला अमेरिकी वकिल जोसेफ नोसेल्लाले जीबीपी क्यापिटल ‘झूटको आधारमा निर्माण गरिएको’ बताएका थिए।

तर ह्वाइट हाउसले जनाएअनुसार, पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा न्याय मन्त्रालयले यस मामिलामा धेरै गल्तीहरू गरेको दाबी गरिएको छ।

ट्रम्पले जेन्टाइलको सजाय घटाउँदा उनलाई अपराधमुक्त भने बनाएको छैन। यसले अन्य सम्भावित दण्डहरू पनि हटाउँदैन।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा वायर, सेक्युरिटीज, कर तथा स्वास्थ्यसम्बन्धी ठगीमा दोषी ठहर भएका व्यक्तिहरूलाई क्षमादान दिने वा सजाय घटाउने कार्य निरन्तर गर्दै आएका छन्।

गत महिना उनले धोखाधडी, मनी लाउन्डरिङ्ग तथा षडयन्त्रको अभियोगमा दोषी ठहर भएका टेनेसी राज्यका हाउस स्पीकर ग्लेन कासाडालाई पूर्ण क्षमादान दिएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com