भेनेजुएलाको हवाई क्षेत्रबाट टाढा रहन ट्रम्पको चेतावनी, भूमिबाटै आक्रमणको सङ्केत


प्रकाशित मिति : मंसिर १३, २०८२ शनिबार

फोटो : एएफपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको हवाई क्षेत्रबाट टाढा रहन चेतावनी दिएका छन्।

उनले एयरलाइन्स, पाइलट तथा आपराधिक समूहहरूलाई भेनेजुएलाको हवाई क्षेत्रबाट टाढा रहन चेतावनी दिएका हुन्। यो चेतावनीले ट्रम्पले भेनेजुएलाभित्र भूमिबाट आक्रमण गर्न सकिने सङ्केत पनि दिएको देखिएको छ।

अमेरिकाले भेनेजुएलामाथि दबाब बढाउने आफ्नो अभियानलाई निरन्तरता दिँदै आएको छ। ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्:

“कृपया भेनेजुएलाको माथि र वरपरको हवाई क्षेत्रलाई पूर्ण रूपमा बन्द भएको मान्नुहोस्।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो घोषणा ट्रम्प प्रशासनले भेनेजुएलाली राष्ट्रपति निकोलास मदुरोलाई पदच्युत गर्न दबाब बढाइरहेको सन्दर्भमा आएको हो।

अमेरिकाले आफ्नो कदम आप्रवासी र लागुऔषध तस्करी रोक्नका लागि भएको बताए पनि शासन परिवर्तन नै अमेरिकाको लक्ष्य भएको देखिन थालेको छ।

तर, भेनेजुएलाका परराष्ट्र मन्त्रीले ट्रम्पको चेतावनीलाई “औपनिवेशिक धम्की” भन्दै खारेज गरेका छन्।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले भेनेजुएलामाथि उडान गर्नु “सम्भावित जोखिमपूर्ण” हुनसक्ने भन्दै विमान कम्पनीहरूलाई यसअघि नै चेतावनी दिएको थियो।

अमेरिकी यात्रु तथा कार्गो उडानहरू २०१९ देखि भेनेजुएलामा प्रत्यक्ष रूपमा नजाने भए पनि केही अमेरिकी विमानहरू दक्षिण अमेरिकातर्फ जाँदा भेनेजुएलामाथि उड्ने गर्छन्।

आप्रवासन तथा लागुऔषध तस्करी रोक्न ट्रम्पले दबाब बढाइरहेका बेला पछिल्ला हप्ताहरूमा उनले सीआइएलाई भेनेजुएलाभित्र आक्रमणका काम गर्न अनुमति दिएको स्वीकार गरेका छन्।

यसै साताको सुरुमा अमेरिकाले मदुरो तथा उनको वरपरका व्यक्तिहरूलाई “विदेशी आतङ्कवादी सङ्गठनका सदस्य” को रूपमा सूचीकृत गरेको थियो।

यो सूचिकरणले भेनेजुएलाभित्र अमेरिकाले सैन्य कारबाही गर्न थप अधिकार खुला गरेको छ।

अमेरिकी सैन्य बलले “अपरेशन सदर्न स्पियर” अन्तर्गत सो क्षेत्रमै १५ हजार सैनिक तथा एक दर्जनभन्दा बढी युद्धपोत तैनाथ गरिसकेको छ।

लागुऔषध तस्करी विरुद्धको अभियानमा डुङ्गामाथि गरिएका प्रहारमा दर्जनौँ मानिस मारिएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मदुरोविरुद्धका सम्भावित सैन्य विकल्पबारे निरन्तर छलफल गरिरहेका छन्।

अक्टोबरमा ट्रम्पले भेनेजुएलासँगको सबै कूटनीतिक संवाद बन्द गरेका थिए।

१० वर्षमा भेनेजुएलाले आर्थिक पतन, सडक आन्दोलन, असफल सैनिक विद्रोह र अनेकौँ षड्यन्त्र देखिसकेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com