ट्रम्प प्रशासनले गर्‍यो एसाइलम सम्बन्धी सबै निर्णयहरू रोक्ने घोषणा


प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार

अमेरिकी ट्रम्प प्रशासनले सबै आश्रय (एसाइलम) सम्बन्धी निर्णयहरू रोक्ने घोषणा गरेको छ।

वाशिङ्टन डीसीमा दुई जना नेसनल गार्ड सैनिकमाथि गोली प्रहार भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निर्णय लिएका हुन्। यो निर्णय केही समय कायम रहने अनुमान गरिएको छ।

यूएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्विसेस (यूएससीआइएस) का निर्देशक जोसेफ एड्लोले ‘एक्स’ मा लेख्दै प्रत्येक विदेशी नागरिकलाई चेकजाँच गर्ने सुनिश्चितता भएपछि मात्र यो रोकावट हटाइने उल्लेख गरेका छन्।

सबै तेस्रो विश्वका देशहरूबाट अमेरिकातर्फको आप्रवासन स्थायी रूपमा रोक्ने ट्रम्प प्रशासनको प्रतिबद्धतापछि यो घोषणा ट्रम्पले त्यसै दिन गरेका हुन्।

बुधबार भएको गोलीकाण्डमा आक्रमणकारीका रूपमा एकजना अफगानी नागरिक पक्राउ परेपछि घटनाले ठूलो राजनीतिक प्रतिक्रिया उत्पन्न गरेको छ। घटनामा घाइते भएकी एकजना नेसनल गार्ड सदस्यको मृत्यु भइसकेको छ। अर्का एकजनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

यूएससीआइएसका कर्मचारीहरूलाई सबै देशका आश्रय निवेदनहरूलाई स्थगन गर्न आदेश गरिएको छ। यो घटनापछि ट्रम्प प्रशासनले आप्रवासनमै कडाइ गर्दै आएका कदमहरूलाई अझ कडा बनाएको छ।

अवैध रूपमा प्रवेश गर्ने आप्रवासीहरूको सामूहिक देश निकाला, शरणार्थी स्वीकृति कोटा उल्लेखनीय रूपमा घटाउने, अमेरिकी भूमिमा जन्मिने अधिकांश व्यक्तिलाई स्वतः अमेरिकी नागरिकता दिने अधिकार अन्त्य गर्ने प्रयास लगायतका विषयमा ट्रम्प प्रशासन कठोर बन्दै गएको देखिएको छ।

यसै क्रममा, अमेरिकी सरकारले बुधबारदेखि अफगान नागरिकहरूसँग सम्बन्धित सबै इमिग्रेशन प्रक्रिया पनि रोकेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यूएससीआइएसले १९ देशबाट आएका आप्रवासीलाई जारी गरिएका ग्रिन कार्डको पुनः परीक्षण गर्ने भनेर यसको छानबिन सुरु गरिसकेको छ।

ट्रम्पले शरणार्थीहरूले अमेरिकामा “सामाजिक अव्यवस्था” उत्पन्न गराएको आरोप लगाउँदै “तेस्रो विश्वका सबै देशहरूबाट हुने आप्रवासन स्थायी रूपमा रोक्ने” बताएका थिए।

उनले सोमालियाबाट आएका शरणार्थीहरूले मिनेसोटा राज्य “कब्जा गरेको” जस्ता विवादास्पद टिप्पणी पनि गरेका छन्।

संयुक्त राष्ट्रसंघले भने सबै देशलाई १९५३ को शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता पालन गर्न आग्रह गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com