डोनाल्ड ट्रम्प किन तैनाथ गर्न चाहन्छन् नेशनल गार्ड ?
प्रकाशित मिति : मंसिर १२, २०८२ शुक्रबार
नोभेम्बर २७, २०२५ मा वाशिंगटन, डीसीमा ह्वाइट हाउसको अगाडि लाफायेट स्क्वायरमा गोप्य सेवाको पोशाकधारी डिभिजन अधिकारीहरूले गस्ती गरिरहेका छन्। (तस्बिर: मन्डेल एनजीएएन / एएफपी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको मुख्य सहरहरुमा नेशनल गार्ड तैनाथ गर्न चाहन्छन् । नोभेम्बर २६ मा वासिङ्टन डीसीस्थित ह्वाइटहाउस नजिकै बन्धुकधारीहरुले नेशनल गार्डका दुइ जना सदस्यमाथि गोली हानेपछि फेरी यस विषयमा बहस भइरहेको छ र यसले ट्रम्पको नेशनल गार्ड तैनाथ गर्ने सपनालाई थप बल पुर्याइरहेको छ ।
स्थानीय सरकारहरुको व्यापक विरोधका बाबजुद् पनि डेमोक्रयाटहरुले नेतृत्व गरेका सहरहरुमा सहरी अपराधसँग लड्न नेशनल गार्ड परिचालन गर्न आवश्यक रहेको ट्रम्पको मत रहँदै आएको छ । मानिसहरुलाई ‘मन परेपनि नमरे पनि’ सहरलाई सुरक्षित गर्न गार्डहरु खटाइने दावी ट्रम्पले गर्दै आइरहेका छन् ।
नेशनल गार्ड तैनाथी गर्ने विषयलाई लिएर राष्ट्रपति ट्रम्पको तिब्र आलोचना हुँदै आइरहेको छ भने अदालतमा परेका मुद्धाहरुले पनि ट्रम्पलाई चुनौती खडा गरिदिएको छ । तर, पनि ट्रम्प पटकै पिच्छे न्यूयोर्क, बाल्टिमोर, न्यू अर्लिन्स, सेन्ट लुइस र नर्थ क्यारोलिनाको शार्लोट जस्ता शहरहरूमा नेशनल गार्ड सेना तैनाथ गर्ने बताउँदै आइरहेका छन् ।
आप्रवासीहरुमाथि भएका कारवाहीको विरुद्ध गत जुनमा लस एन्जलसमा प्रदर्शनहरु भएपछि ट्रम्पले त्यहाँ नेशनल गार्ड तैनाथ गर्न आदेश दिए । दंगा नियन्त्रण गर्न भन्दै आएको नेशनल गार्डको तैनाथीले राज्य सरकारसँग ट्रम्प सरकारको ठूलो द्वन्द्व भयो । ट्रम्पले राज्य सरकारका गर्भनरसँग जोरी खोजे, र समस्याहरु झनै बढ्दै गयो ।
सेप्टेम्बरमा राष्ट्रपति ट्रम्पले टेनेसीको मेम्फिसमा पनि नेशनल गार्ड तैनाथ गर्ने बताए । त्यहाँका मेयर पल यंगले यस कार्यको बिरोध गरे र एक टेनेसी न्यायाधीशले अस्थायी रूपमा तैनाथीलाई रोकिदिए । ती न्यायधीशले कानुन प्रवर्तनको लागि सेनाको प्रयोगले राज्यको संविधानको उल्लङ्घन गर्ने बताएका थिए।
अन्य राज्यहरुले पनि नेशनल गार्ड तैनाथ गर्ने निर्णय विरुद्ध अदालतमा चुनौती दिएका छन् र अदालतले पनि त्यसलाई असंवैधानिक ठहर गर्दै रोक लगाउँदै आएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो अधिकारको सिमा नाघेर गरेका यस्ता आदेशहरु संविधानसम्मत मान्न नसकिने अदालतको फैसलाहरुमा छ ।
सहरलाई सुरक्षित राख्ने नाममा ट्रम्पले नेशनल गार्डहरु परिचालन गर्दा त्यसले नागरिक अधिकारमा अवरोध हुने तर्क छ, राज्यका गर्भनर तथा सहरका मेयरहरुको । घरेलु कानुनको कार्यान्वयनमा नेशनल गार्ड खटाउन संघीय कानुन विपरित हुने भएकाले यसमा निकै विरोधहरु देखिएका छन् । पोसे कोमिट्याटस एक्ट एक संघीय कानुन हो जसले सेनालाई घरेलु गतिविधिहरूमा संलग्न हुनबाट रोक्छ। यही कानुन मिचिएकोमा ट्रम्पको आलोचना भइरहेको छ ।








