आइसले यस वर्ष ६०० आप्रवासी बालबालिकालाई संघीय हिरासतमा पठाएको खुलासा


प्रकाशित मिति : मंसिर ९, २०८२ मंगलबार

आइसले यस वर्ष ६०० आप्रवासी बालबालिकालाई संघीय हिरासत आश्रयस्थलमा पठाएको खुलासा भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा जस्तै परिवार विच्छेदहरू फेरि सुरु भएका छन् भने यस्ता घटनाहरु देशभरि भइरहेका छन्। सरकारी तथ्याङ्क अनुसार लगभग ६०० आप्रवासी बालबालिकाहरूलाई आइसद्वारा सरकारी आश्रयस्थलहरूमा राखिएको छ। यो संख्या पहिलेका चार वर्षको कुल संख्या भन्दा पनि बढी रहेको छ। र यो एक दशकअघि रेकर्ड राख्न सुरु भएदेखिको सबैभन्दा उच्च संख्या पनि हो।

सात वर्षअघि ट्रम्पको पहिलो प्रशासनको समयमा, बालबालिकाहरूलाई सीमा पार गर्ने बित्तिकै उनीहरूको परिवारबाट अलग गरिन्थ्यो। अवैध रूपमा सीमा पार गर्नेमाथि शून्य सहनशीलताको नीति अन्तर्गत, सीमा सुरक्षा अधिकारीहरूले वयस्कहरूलाई हिरासतमा लिन्थे भने बालबालिकाहरूलाई संघीय आश्रय प्रणालीमा पठाइन्थ्यो। यसको उद्देश्य अन्य परिवारहरूलाई पनि पछ्याउनबाट रोक्नु थियो। तर व्यापक सार्वजनिक विरोध र एक मुद्दा पछि प्रशासनले यसलाई अन्त्य गर्‍यो।

शून्य सहनशीलता नीतिविरुद्धको मुद्दा २०२३ मा एउटा सम्झौतामा टुंगिएको थियो, जसले सीमामा हुने विच्छेदहरूलाई सीमित गर्छ । तर यसले आइसको पक्राउपछि देश भित्र हुने विच्छेदहरूलाई सम्बोधन गर्दैन। तर अहिले ट्रम्प प्रशासनले पहिलेकै कारणहरूले गर्दा परिवारहरु अलगथलग गरिरहेको तथा नयाँ आप्रवासीहरूलाई आउनबाट रोक्न र यहाँ भएकाहरूलाई डरले देश छोड्न बाध्य पार्न यसो गरिएको आप्रवासन अधिकारकर्मीहरुले बताएका छन् ।

अहिलेको तथ्यांक संकलन वर्तमान र पूर्व सरकारी अधिकारीहरू, वकिलहरू र आप्रवासी परिवारहरूसँग दर्जनौं अन्तर्वार्ता लिएर गरिएको थियो । जस अनुशार आश्रयस्थलहरूमा पठाइएका लगभग ४०० बालबालिकाहरूका थप जानकारीहरू सङ्कलन गरिएको थियो। संकलित जानकारी अनुसार लगभग १६० मामिलाहरूमा बाल कल्याणसम्बन्धी चिन्ताहरू समावेश थिए, जुन वर्तमान र पूर्व अधिकारीहरूले विगतमा आइसले आश्रयस्थलहरूमा पठाउने बालबालिकाहरूमा सामान्य हुने बताउँछन्। यी मामिलाहरूमा देश भित्र एक्लै भेटिएका, वा घरेलु दुर्व्यवहार वा बेचबिखनका सम्भावित शिकार मानिएका बालबालिकाहरू, वा नाबालिगहरू वा उनीहरूसँग भएका वयस्कहरू आपराधिक कार्य गरेको आरोप लागेका अवस्थाहरू समावेश छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साउथ क्यारोलिनामा पाँच जनाको कोलम्बियाली परिवार औँठाछाप दिने प्रयोजनका लागि सरकारी कार्यालयमा जाँदा आमाबाबुलाई हिरासतमा लिइएको थियो । जबकि बालबालिकाहरू ५, ११ र १५ वर्षकालाई चार महिनाका लागि आश्रय प्रणालीमा पठाइएको थियो । त्यस्तै ट्राफिक जाँचपछि अधिकारीहरूले उनको बुबासँग सम्पर्क गर्न नसकेपछि साउथ फ्लोरिडामा ग्वाटेमालाका एक १७ वर्षीय बालकलाई हिरासतमा लिइएको थियो ।

लगभग १५० मामिलाहरूमा बालबालिकाहरूलाई ट्राफिक जाँचपछि संघीय हिरासतमा लिइएको थियो । यो। यो प्रवृत्ति विशेष गरी फ्लोरिडाजस्ता राज्यहरूमा उल्लेख्य छ, जहाँ राज्य र स्थानीय प्रहरीसहित राजमार्ग गस्तीलाई आप्रवासन कानुनहरू लागू गर्न अधिकार दिइएको छ।

अधिकांश मामिलाहरूमा किशोर किशोरीहरू संलग्न छन् । तिनीहरूमध्ये धेरै वर्षौंदेखि अमेरिकामा थिए। उनीहरुलाई आश्रयस्थलमा पठाइनुको अर्थ उनीहरूको परिवारबाट मात्र नभई विद्यालयहरू, साथीहरू, चर्चहरू, डाक्टरहरू र दैनिक दिनचर्याहरूबाट पनि अलग गराउनु हो । आश्रयस्थलहरूमा पुगेका बालबालिकाहरुलाई रिहा गराउन नातेदारहरू वा स्पोन्सरको रूपमा कार्य गर्ने अन्य वयस्कहरूलाई सरकारले गाह्रो बनाउँदैछ। सार्वजनिक तथ्याङ्क अनुशार आश्रयस्थलहरूमा बस्ने औसत अवधि जो बाइडेनको राष्ट्रपतिकालको एक महिनाबाट बढेर अहिले झन्डै छ महिना पुगेको छ।

आप्रवासी बालबालिकाहरूका लागि देशको लगभग १७० संघीय आश्रयस्थलहरूको सञ्जाल शरणार्थी पुनर्वास कार्यालयद्वारा सञ्चालित छ। यो कार्यालय एक्लै सीमा पार गर्ने कमजोर बालबालिकाहरूलाई अस्थायी रूपमा आवास उपलब्ध गराउने, उनीहरूलाई अमेरिकामा प्रायोजकलाई नसुम्पिएसम्म सम्भव भएसम्म कम प्रतिबन्धात्मक वातावरणमा राख्ने जिम्मेवारी दिइएको छ। कार्यालयले प्रायोजकहरूलाई खोज्छ र छानबिन गर्छ । बालबालिकाहरूलाई ढिलाइ नगरी उनीहरूलाई सुम्पिनुपर्छ।

बाइडेनको नेतृत्वमा, जब सीमा पार गर्नेको संख्या कीर्तिमानी उच्च भयो, लगभग ४ लाख ७० हजार बालबालिकाहरूलाई प्रायोजकहरूलाई सुम्पिएको थियो। रिपब्लिकनहरूले यो सुम्पिने कार्यले तस्करहरूलाई प्रोत्साहन भएको आरोप लगाउँदै आएका छन् । अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूलाई एक्लै सीमा पार पठाउन प्रोत्साहित गरेको उनीहरुको आरोप छ ।

ट्रम्प प्रशासनले शरणार्थी पुनर्वास कार्यालयको जिम्मामा पूर्व आइस अधिकारीहरूलाई नियुक्त गरेको छ भने विगतका वर्षहरूमा हिरासतबाट रिहा गरिएका बालबालिकाहरू पत्ता लगाउन प्राथमिकता दिएको छ।आइसले यस प्रयासलाई सहज बनाउन राष्ट्रिय रुपमा २४ घण्टा कल सेन्टर खोल्ने योजना बनाएको छ। सरकारले पहिले नै २४ हजार ४ सय भन्दा बढी बालबालिकाहरूको व्यक्तिगत रूपमा जाँच गरिसकेको बताएको छ ।

ट्रम्पको नेतृत्वमा सरकारले नयाँ छानबिन आवश्यकताहरू ल्याएको छ, जसमा विस्तारित जाँच, प्रायोजकको घरपरिवारका सबैका लागि फिंगरप्रिन्ट र पारिवारिक वित्तीय स्थितिको कडा छानबिन समावेश छन्। यस वर्ष आइसले आश्रय प्रणालीमा पठाएका बालबालिकाहरूमध्ये लगभग आधा पहिले पनि त्यहाँ थिए। उनीहरू वर्षौंअघि एक्लै सीमा पार गरेर आइपुग्दा उनीहरूलाई सकेसम्म चाँडो रिहा गरिएको थियो। यस पटक उनीहरू अलपत्र परेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com