राष्ट्रपति ट्रम्प र मामदानी भेटको अर्थ
प्रकाशित मिति : मंसिर ७, २०८२ आईतबार
नेभेम्बर २१ का दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्क सिटीका मेयर जोहोरान मामदानीबीच भेटवार्ता भयो । ओभल अफिसमा भएको भेटघाटलाई दुबैले उपलब्धीमूलक भएको प्रतिक्रिया दिएका छन् । उपलब्धी मुलक पनि त्यो खास अर्थमा जसमा संघीय सरकारले दिने अनुदान कटौतीको घम्कीबाट राष्ट्रपति ट्रम्प ब्याक भएको संकेतको रुपमा राजनीतिक विश्लेषणहरु भइरहेका छन् । राष्ट्रपति ट्रम्पले मामदानीको प्रसंशा गरेका छन्, मामदानी फरक भएको र यो धेरै सकारात्मक हुन सक्ने भन्दै ट्रम्पले न्युयोर्कका लागि साँच्चिकै महान् काम गर्ने मौका रहेको समेत बताएका छन् । ट्रम्ले भनेका छन् – “ममदानीसित भेट्नु सम्मानको कुरा हो, म उनको समर्थनमा हुनेछु।”
मेयर निर्वाचनका क्रममा ट्रम्प मामदानीका विरुद्ध थिए । ट्रम्पका धम्कीहरु सार्वजनिक भएका थिए त्यो व्यक्तिगत होस् चाहे सिटीलाई दिइने केन्द्रीय अनुदान कटौतीको सन्दर्भमा होस् । ममदानीलाई मत नदिन ट्रम्पले सामाजिक सञ्चालहरुबाट आह्वान गरेका थिए । र, उनका विरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए । मामदानीले पनि ट्रम्पलाई फाँसीवादी भएको आरोप लगाएका थिए ।
त्यसरी उग्र रुपमा प्रस्तुत भएका राष्ट्रपति ट्रम्प अहिले तिनै मामदानीको प्रशंसकको रुपमा ओभल अफिसमा देखिएका छन् । मामदानी पनि ट्रम्पका सवालमा नरम देखिएका छन् । र, राष्ट्रपति डोनाल्ड ट्रम्पले नवनिर्वाचित मेयर मामदानीको न्युयोर्क सिटीमा आफू धेरै, धेरै सहज हुने सार्वजनिक गरिसकेका छन् ।
भेटमा देखिएका परिदृश्यहरुले मेयर मामदानी र राष्ट्रपति ट्रम्पबीचको वाक् युद्धको समाप्तीलाई संकेत गरेको छ । न्युयोर्क मेयरको रुपमा मामदानीले गर्नुपर्ने धेरै कामहरुको सूचीमा राष्ट्रपतिको रुपमा ट्रम्पको निकै महत्वपूर्ण भूमिका हुने नै हुन्छ । यसबारे ट्रम्पले पनि निर्वाचन लगत्तै मामदानीको विजय भाषणपछि केही कुराहरु सार्वजनिक गरेको थिए । उनले निकै खराब सुरुवात गरेको भन्दै मामदानीप्रति ट्रम्प कु्रद्ध बनेका थिए । मानौँ न्त्यसबेला युयोर्कमा अर्को भयकंर तुफान आउनु अघि जस्तो सन्नाटा थियो । तर, हिजोको भेटले न्युयोर्कवासीलाई केही राहत भने भएको छ । राष्ट्रपति ट्रम्प र मेयर मामदानीले न्युयोर्कको विकासमा संगै काम गर्ने प्रतिवद्धतालाई सार्वजनिक गरेका छन् । न्युयोर्क सहरको महंगीलाई कम गर्ने दुबैको साझा एजेण्डा ओभल अफिसमा व्यक्त भएको छ । जसका कारण न्युयोर्कवासीमा थोरै भएपनि सकारात्मक संचार गरिदिएको छ ।
अब यो महत्वपूर्ण र ओभल अफिसमा देखिएको सौहाद्रता आउँदो जनवरीमा मेयरको रुपमा मामदानीले पदभार ग्रहण गरेपछि र न्युयोर्कका लागि महत्वपूर्ण कामहरुको सुरुवात गर्ने समयसम्म निरन्तर रहन्छ कि रहँदैन भन्ने पनि चासोहरु व्यक्त भएका छन् । रुस र युक्रन युद्धका सन्दर्भमा होस् वा आयातमा थप ट्यारिफ लगाउने प्रकरणमा होस्, ट्रम्पको कार्यशैली स्थिर रहेको देखिएको छैन । छिन छिनमै ट्यारिफका दरहरु परिवर्तन गर्ने र पक्षसँग लामो समय रहन नसक्ने अस्थित मुभमेन्टमा देखिने गरेका ट्रम्पको सम्बन्ध मामदानीसँग कति समय रहँदा भन्न भने गाह्रैछ ।
आवेगको पारोलाई ट्रम्पले किन यति छिटै मथ्थर बनाए भनेर शंका गर्ने सुबिधा पनि न्युयोर्कवासी लाई छ । मामदानीलाई भेट्नु केही दिन अघि मात्रै पनि ट्रम्पले एक जना पत्रकार महिलामाथि कटु शब्दको प्रयोग गरेपछि त्यो भनाइ आलोचित भइरहेको छ । न्युयोर्क सहरलाई सुरक्षित बनाउने मामदानी र ट्रम्पको सहमतिले अपराधिक गतिविधमा संलग्न भएकाहरुलाई आइसद्वारा प्रकाउ गर्ने जेन्टलमेन्ट एग्रिमेन्ट हो भनेर बुझ्न पनि सकिन्छ । यहिनेर मामदानी र ट्रम्पबीचको यो सौहाद्र्ध सम्बन्धलाई जोड्ने कसी बनेको हो कि भनेर आंकलन गर्न पनि सकिन्छ । ट्रम्पमा एक्कासी आएको परिवर्तन किन होला भन्ने शंका गर्नु उचिसाह्रो नाजायज पनि होइन । आउँदा निर्वाचनलक्षित लचिलोपना हो वा सफा मनको सार्वजनिकीकरण त्यो हेर्न भने केही समय कुर्नै पर्ने भयो ।








