अमेरिकाले नर्सिङलाई “प्रोफेसनल डिग्री” को मान्यता नदिने, असर कस्तो पर्ला ?


प्रकाशित मिति : मंसिर ५, २०८२ शुक्रबार

a woman laying in a hospital bed next to a man

अमेरिकाले नर्सिङलाई अब “प्रोफेसनल डिग्री” को मान्यता नदिने भएको छ।

अमेरिकी शिक्षा मन्त्रालयले नर्सिङलाई अब “प्रोफेसनल डिग्री” कार्यक्रमको रूपमा नमान्ने निर्णय गरेको हो। यो निर्णयले स्वास्थ्य क्षेत्रप्रति आकर्षित विद्यार्थीहरूको आर्थिक सहायतामा नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना देखिएको छ।

अमेरिकन युनिभर्सिटीहरूको एसोसिएसन (एएयू) का अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाईमा हस्ताक्षर गरेको “बिग ब्यूटिफुल बिल” ले स्नातकोत्तर (ग्राजुएट) विद्यार्थीहरूलाई जीवनभरिमा अधिकतम १ लाख डलर र प्रोफेसनल विद्यार्थीहरूलाई २ लाख डलरसम्म मात्र ऋण लिन पाउने सीमा तोकिदिएको छ।

नयाँ नियमअनुसार अब स्नातकोत्तर विद्यार्थीहरूले हरेक वर्ष २०,५०० डलरसम्म ऋण लिन पाउनेछन्। प्रोफेसनल विद्यार्थीहरूले भने ५०,००० डलरसम्म ऋण लिन पाउने प्रावधान रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०२६ जुलाई १ देखि लागू हुने यो प्रावधान अनुसार, धेरै विद्यार्थीले आफ्नो अध्ययन खर्च जुटाउन निर्भर रहने “ग्रेड प्लस लोन” कार्यक्रम पनि अन्त्य हुनेछ।

अमेरिकन नर्सेस एसोसिएसनकी अध्यक्ष जेनिफर मेन्सिक केनेडीले पछिल्लो कदमले स्वास्थ्य प्रणालीमा गम्भीर असर पार्ने बताइन्। नर्सको कमी देशभर रहेको र बढ्दो स्वास्थ्य सेवाको आवश्यकताकाबीचमा चालिएको यस्तो कदमले अमेरिकाको समग्र स्वास्थ्य अवस्थामा असर पुग्ने उनको भनाइ छ।

नर्सहरूको स्नातकोत्तर शिक्षाका लागि प्राप्त हुँदै आएको ऋणमा पहुँच सीमित गर्नु भनेको बिरामी उपचारको आधार नै कमजोर बनाउने कार्य भएको उनको दाबी छ।

नर्सिङ जर्नलका अनुसार, नर्सिङ पढ्ने खर्च डिग्री र कलेज तथा विश्वविद्यालय अनुसार फरक–फरक रहेको छ। अमेरिकन नर्सेस एसोसिएसनको तथ्याङ्क अनुसार, अमेरिकाभर २ लाख ६० हजारभन्दा बढी विद्यार्थी प्रवेश–स्तरका कार्यक्रमहरूमा भर्ना भएका छन्।

प्रोफेसनल डिग्री भन्नाले चिकित्सक, फार्मेसी, वा कानुनजस्ता विशेष पेसामा काम गर्न आवश्यक व्यावहारिक सीप र तालिम प्रदान गर्ने उच्च–स्तरको कार्यक्रमलाई बुझाउँछ। यस्ता कार्यक्रमहरू स्नातक अध्ययन (अन्डरग्राजुएट) पछि गरिन्छन्। यसका लागि सामान्यतया लाइसेन्स वा प्रमाणपत्र अनिवार्य हुन्छ।

शिक्षा मन्त्रालयले “प्रोफेसनल प्रोग्राम” को परिभाषा परिवर्तन गरेसँगै २ लाख डलरसम्म ऋण लिन पाउने प्रोफेसनल विद्यार्थीहरूको सूचीबाट केही स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू हटाइएका छन्।

नयाँ परिभाषाअनुसार, मेडिसिन, फार्मेसी, डेन्टिस्ट्री, अप्टोमेट्री, ल (कानुन), भेटेरिनरी मेडिसिन, ओस्टियोप्याथिक मेडिसिन, पोडियाट्री, काइरोप्र्याक्टिक, थियोलोजी, क्लिनिकल साइकोलोजी लगायतका कार्यक्रमहरू प्रोफेसनलका रूपमा मानिन्छन्।

तर, फिजिसियन असिस्टेन्ट, नर्स प्राक्टिसनर, फिजिकल थेरापिस्ट, र अडियोलोजिस्ट का कार्यक्रमहरू अब प्रोफेसनल श्रेणीबाट हटाइएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com