अमेरिका र रुस मिलेर शान्ति प्रस्ताव तयार पारेपछि जेलेन्स्कीले ट्रम्पसँग भेट्न किन खोजे ?


प्रकाशित मिति : मंसिर ४, २०८२ बिहीबार

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी शान्ति प्रस्तावबारे राष्ट्रपति ट्रम्पसँग कुरा गर्ने तयारीमा रहेको बताएका छन्।

रुससँगको युद्ध अन्त्य गर्न अमेरिकाले तयार पारेको शान्ति योजनाको मसौदा सार्वजनिक भएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्ने बताइएको छ।

अमेरिकी विशेष दूत स्टिभ विटकफ र उनका रूसी समकक्षी किरिल दिमित्रियेभले युक्रेनलाई समावेश नगरी यो प्रस्ताव तयार गरेको बताइएको छ। मसौदा तयार पार्ने कार्यमा आफ्नो सहभागिता नभएकाले युक्रेनले सकारात्मक प्रतिक्रिया भने दिएको छैन।

जेलेन्स्कीको कार्यालयले जारी गरेको विज्ञप्तिमा अमेरिकाले प्रस्तुत गरेको प्रस्तावले “कूटनीति पुनर्जीवित गर्न मद्दत पुर्याउन सक्छ” भन्ने अपेक्षा गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मसौदा प्रस्तावमा युक्रेनले अहिले पनि नियन्त्रणमा राखेका डोनबासका केही क्षेत्र छोड्ने, युक्रेनी सेनाको आकार ठूलो मात्रामा घटाउने र युक्रेनले आफ्ना धेरै प्रकारका हतियार त्याग्ने बुँदाहरू उल्लेख रहेको बताइएको छ।

तर, ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले प्रस्तावले युक्रेनबाट ठूलो सम्झौता मागेको भन्ने आरोपलाई अस्वीकार गरिन्।

उनका अनुसार विटकफ र अमेरिकी विदेश मन्त्री मार्को रुबियो रुस र युक्रेन दुवै पक्षसँग समान रूपमा संवादमा छन्।

उनले भनिन्, “यो रुस र युक्रेन दुवैका लागि राम्रो योजना हो। दुवै पक्षका लागि स्वीकार्य हुने अपेक्षा छ।”

अमेरिकी सेना सचिव ड्यान ड्रीस्कोल, सेनाध्यक्ष रान्डी जर्ज र युरोपस्थित अमेरिकी कमान्डर जनरल क्रिस डोनाह्यूसँग भेटपछि युक्रेनले मसौदाप्रतिको आफ्नो स्पष्ट असन्तुष्टि पुनः व्यक्त गरेको छ।

यद्यपि, जेलेन्स्कीले “युरोपमा सुरक्षा फिर्ता ल्याउन ट्रम्प र उनको टोलीले गरेका प्रयासहरू” प्रति प्रशंसा व्यक्त गरेका छन्।

सम्बोधनमा जेलेन्स्कीले “युक्रेनलाई योग्य शान्ति चाहिएको” र “युक्रेनी जनताको मर्यादा” कायम राखिनुपर्छ भनेर स्पष्ट पारेका छन्।

युरोपेली संघका विदेश नीति प्रमुखले “कुनै पनि योजना सफल हुन युक्रेनी र युरोपेली समर्थन अनिवार्य” रहेको बताइन्। उनले परामर्शबिना कुनै पनि प्रस्ताव नल्याउन आग्रह गरिन्।

दोस्रो कार्यकाल सुरु गरेदेखि नै ट्रम्पले युद्ध रोक्न लक्षित विभिन्न पहलहरू अघि सारेका छन्। तर आक्रमणको चौथो वर्ष नजिकिँदै गर्दा पनि दुवै पक्ष युद्ध अन्त्यको सूत्रमा अझै पनि टाढा छन्।

युक्रेनले लामो दूरीका ड्रोनले रूसी सैन्य तथा ऊर्जा संरचनालाई लगातार निशाना बनाइरहेको छ। रुसका आक्रमणहरू पनि रोकिएका छैनन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com