राष्ट्रपति ट्रम्प र न्यूयोर्कका नव–निर्वाचित मेयरबीचको तनाव कम हुँदै: शुक्रबार भेटवार्ता हुने


प्रकाशित मिति : मंसिर ४, २०८२ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यूयोर्कका नव–निर्वाचित मेयर जोहरन मम्दानीबीच भेट हुने भएको छ।

राष्ट्रपति ट्रम्प र न्यूयोर्कका नव–निर्वाचित मेयर जोहरन मम्दानीको भेटवार्ता आउँदो शुक्रबार हुने तय भएको हो।

केही दिनअघि मम्दानीले ह्वाइट हाउसलाई औपचारिक रूपमा भेटको प्रस्ताव गरेपछि भेट व्यवस्था मिलाइएको हो।

ट्रुथ सोशलमा लेख्दै ट्रम्पले मम्दानीले भेटका लागि अनुरोध गरेको उल्लेख गरेका थिए। उनले भने, “यो शुक्रबार ओभल अफिसमा भेट हुने सहमति भएको छ।” ट्रम्पका अनुसार थप विवरण चाँडै सार्वजनिक गरिनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मम्दानीका प्रवक्ता डोरा पेकजले पनि भेटको तयारी पुष्टि गर्दै नव–निर्वाचित मेयरका लागि यो सामान्य प्रक्रिया भएको बताइन्।

सार्वजनिक सुरक्षा, आर्थिक सुरक्षा तथा किफायतीपन सम्बन्धी एजेन्डामा एक मिलियनभन्दा बढी न्यूयोर्कवासीले दिएको जनमतबारे मम्दानी राष्ट्रपति भेट्न वासिङ्टन जाँदै गरेको उनले बताइन्।

पत्रकारहरूसँग बोल्दै मम्दानीले आफ्नो टोलीले ह्वाइट हाउसलाई भेटको प्रस्ताव पठाएको बताए। उनले भोटरहरूलाई दिएका वाचा दोहोर्‍याउँदै भने, “हाम्रा मतदाताहरू कुनै न कुनै रूपमा महँगीका कारण शहर छोड्न बाध्य भइरहेका छन्। ट्रम्पका आर्थिक नीतिहरूले न्यूयोर्कमा जीविकाको लागत बढाएको छ।”

मम्दानीले ट्रम्पसँग राम्रो सम्बन्ध “शहरको सफलताका लागि महत्त्वपूर्ण” भएको बताएका थिए।

चुनावको बेला ट्रम्पले मेयरका प्रतिस्पर्धीका रूपमा स्वतन्त्र उम्मेदवार तथा पूर्व गभर्नर एन्ड्रयू कुमोलाई समर्थन गरेका थिए। उनले मम्दानीलाई “कम्युनिस्ट” भनी आलोचना गर्दै आएका छन्।

तर पछिल्ला हप्ताहरूमा ट्रम्पले मम्दानीसँगको तनाव “कम हुँदै गएको” सङ्केत दिएका छन्। उनले मम्दानी वासिङ्टन आउन इच्छुक रहेको र न्यूयोर्कका लागि सबै कुरा राम्ररी सुल्झाउन चाहेको बताएका छन्।

चुनावी अभियानका क्रममा मम्दानीले आफूलाई ट्रम्पका कडा आलोचकका रूपमा प्रस्तुत गरेका थिए। उनले बाल हेरचाह, आवास, किराना सामान र सार्वजनिक यातायातका लागत कम गर्ने ठोस योजना अघि सारेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com