अमेरिकाको मिनेसोटामा नाबालिगलाई यौन प्रलोभनमा पारेको आरोप आइस कर्मचारीसहित १६ पुरुष पक्राउ


प्रकाशित मिति : मंसिर ३, २०८२ बुधबार

अमेरिकाको मिनेसोटामा नाबालिगसँग यौन सम्पर्क गर्न खोज्ने व्यक्तिहरूलाई लक्षित गर्दै गरिएको तीनदिने विशेष अपरेशनमा १६ पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमध्ये अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)मा कार्यरत एक कर्मचारी समेत रहेका छन्।

ब्लुमिङटनका प्रहरी प्रमुख बुकर हज्डसका अनुसार नोभेम्बर ५ बाट सुरु गरिएको “अपरेशन क्रीप” नामक अभियान १७ वर्षीया किशोरीसँग यौन सेवा किन्न खोज्ने व्यक्तिहरूलाई पक्रन केन्द्रित थियो।

हज्डसका अनुसार, आइसमा आबद्ध कर्मचारी ४१ वर्षीय एलेक्ज्याण्डर ब्याक हुन् । अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका नागरिक अडिटर रहेका उनी पनि स्टिङ अपरेशनमा फसेका हुन्। पक्राउ पर्दा उनले “म आइस हुँ, बोइस” भन्दै आफूलाई बचाउन खोजेको प्रहरीले जनाएको छ। तर, प्रहरीले उनलाई तत्कालै हिरासतमा लिएको थियो।

हज्डसका अनुसार सबै पक्राउ परेकालाई अहिलेसम्म औपचारिक रूपमा आरोप लागिपुगेको छैन। पक्राउ परेकामा मेट्रो ट्रान्जिट बस चालक, ब्राउन काउन्टी हिस्टोरिकल सोसाइटीका कर्मचारी तथा मिनेसोटा पोल्युसन कन्ट्रोल एजेन्सीका कर्मचारी समेत छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पक्राउ परेकाहरूको उमेर १८ देखि ४९ वर्षसम्म रहेको जनाएको छ।

प्रहरीले एक ड्रोन भिडियो पनि सार्वजनिक गरेको छ, जसमा एक शंकास्पद व्यक्ति होटलमा कोकेन, मेथाम्फेटामिन र आठवटा हतियार भएको झोला बोकेर पुगेको देखिन्छ। अर्को एक व्यक्तिलाई भने, बन्दुक लिएर आउने योजना गरेको दाबीपछि होटल प्रवेश गर्ने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो।

आइस कर्मचारी स्टिङ अपरेशनमा समातिनुले संघीय आप्रवासन एजेन्सीहरूमा निगरानी र जवाफदेहिताको माग थप बढेको बताइएको छ। नाबालिगसँग यौन प्रलोभनको आरोपमा कर्मचारी पक्राउ परेपछि एजेन्सीहरू थप विवाद र जनचासोमा परेका छन्।

हज्डसले अपराधीहरूले प्रयोग गर्ने अनलाइन प्लेटफर्महरू नियन्त्रण गर्न कानुनी कडाइ आवश्यक भएको उल्लेख गर्दै भने, “हामीले यस्ता कम्पनीहरूलाई यस्तो गतिविधि दोहोरिन नदिन बाध्य पार्ने कानून पास गर्नु पर्छ ।”

यस अपरेशनमा मिनेसोटा ब्युरो अफ क्रिमिनल एप्रीहेन्सन, एडेन् प्रेरी, रिचफिल्ड, तथा मिनियापोलिस–सेंट पॉल अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी समेत सहभागी थिए।

स्टिङ अपरेशनबाट आएका केही मुद्दाहरू संघीय अभियोजनका लागि पठाइने तयारी भएको प्रहरीले जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com