न्यूयोर्क सिटीको अध्यागमनमा थप कडाइ गर्ने ट्रम्प प्रशासनको तयारी


प्रकाशित मिति : मंसिर ३, २०८२ बुधबार

अमेरिकाको न्यूयोर्क सिटीमा अध्यागमन (इमिग्रेशन) मा थप कडाइ गर्ने तयारी गरिएको छ। ह्वाइट हाउसका बोर्डर प्रमुख टम होम्यानले न्यूयोर्क सिटीमा अध्यागमनमा थप कडाइ गर्ने तयारी भएको घोषणा गरेका हुन्।

होम्यानले न्यूयोर्क सिटीमा सङ्घीय अध्यागमन कारबाहीलाई अझ तीव्र बनाइने बताए। यो घोषणा म्यानहटनका सडक व्यापारीहरूलाई लक्षित गरी गरिएको एउटा उच्च-प्रोफाइल (चर्चित) धरपकड (रेड) पछि भएको हो।

ट्रम्प प्रशासनले यसअघि नै न्यूयोर्क सिटीमा विभिन्न अध्यागमन अपरेसनहरू सञ्चालन गरिरहेको छ।

होम्यानले भनेका छन्, “म चाँडै नै न्यूयोर्क सिटीमा हुनेछु। हामी त्यहाँ अपरेसनहरू गर्नेछौँ। हामी अभियानलाई बढाउनेछौँ, किनकि यो ‘स्यान्क्चुअरी सिटी’ हो र दैनिक जीवनमा सार्वजनिक सुरक्षा जोखिम बढिरहेका छन्।” तर, अपरेसन कहिले सुरु हुन्छ भन्नेबारे उनले स्पष्ट पारेनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी ले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

नवनिर्वाचित मेयर जोहरान माम्दानीका प्रवक्ता डोरा पेकेकले “न्यूयोर्कका ३० लाखभन्दा बढी आप्रवासी नै शहरको शक्ति, जीवन्तता र सफलताको मेरुदण्ड हुन्” भन्दै नवनिर्वाचित मेयरले सबै न्यूयोर्कवासीको अधिकार र मर्यादा जोगाउन तथा स्यान्क्चुअरी कानुन कायम राख्न प्रतिबद्ध रहने बताएका छन्।

न्यूयोर्कका गभर्नरका प्रवक्ताले राज्यले स्थानीय र सङ्घीय सुरक्षासँग कानुन कार्यान्वयनमा काम गर्न तयार रहेको तर “सङ्घीय हस्तक्षेप नचाहिएको र नचाहिने” स्पष्ट गरिएको बताइन्।

ट्रम्प प्रशासनले स्टेटन आइल्यान्डस्थित कोस्ट गार्ड केन्द्रलाई कागजातविहीन आप्रवासीहरूलाई थुनामा राख्ने ठाउँका रूपमा प्रयोग गर्ने सम्भावना रहेको छ।

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले शिकागो, लस एन्जलस, वाशिङ्टन डीसीजस्ता ठूला सहरहरूमा पनि कडा अध्यागमन कारबाही गर्दै आएका छन्। ह्वाइट हाउसले यसलाई अपराध नियन्त्रण र सार्वजनिक सुरक्षा लक्षित अभियान भएको बताएको छ।

गत हप्ता भएको भेटमा गभर्नर होकुल र नवनिर्वाचित माम्दानीले न्यूयोर्कमा सम्भावित आइस (अध्यागमन तथा भन्सार प्रवर्तन) कारबाहीका बारेमा छलफल गरेका थिए। छलफलको क्रममा उनीहरू दुवैले यस्तो कारबाहीले सार्वजनिक सुरक्षामा कुनै सुधार नल्याउने निष्कर्ष निकालेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com