नर्थ क्यारोलिनाको शार्लोटमा आप्रवासी पक्राउ पर्नेको संख्या १३० पुग्यो, समुदायमा त्रास र चिन्ता


प्रकाशित मिति : मंसिर २, २०८२ मंगलबार

फोटो : एपी/रासस

अमेरिकाको नर्थ क्यारोलिनामा भएको आप्रवासन छापामा पक्राउ पर्नेहरूको सङ्ख्या १३० पुगेको छ। आप्रवासन अधिकारीहरूले नर्थ क्यारोलिनाको शार्लोट सहरलाई निशाना बनाएर छापा मारेका हुन्।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) का अनुसार गत साताको अन्त्यदेखि नर्थ क्यारोलिनाको शार्लोट क्षेत्रमा सङ्घीय अधिकारीहरूले आप्रवासन अभियानअन्तर्गत छापा मार्न थालेका हुन्।

पक्राउ परेकामध्ये ४४ जनाको आपराधिक रेकर्ड रहेको डीएचएस ले जनाएको छ। पक्राउ पर्नेमा “दुई जना परिचित ग्याङ सदस्य” पनि समावेश छन्। उनीहरूको दोष प्रमाणित भएको हो वा केवल मुद्दा लगाइएका हुन् भन्नेबारे स्पष्ट पारिएको छैन।

डीएचएस का प्रवक्ताले समुदायलाई आतङ्कित पारिरहेका आपराधिक पृष्ठभूमिका आप्रवासीहरूको कुनै स्थान हुन नसक्ने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सङ्घीय अधिकारीको उपस्थितिका कारण उत्पन्न भएको डर, चिन्ता र अनिश्चितता ले गर्दा ३०० देखि ५०० बालबालिका विद्यालय गएका छैनन्। धेरै रेस्टुरेन्टका कामदार पनि त्रासका कारण काममा गएका छैनन्।

शार्लोटमा भएको कडाइका बीच देशभरि आप्रवासन कार्यवाही जारी रहने सङ्केत देखिएको छ। सिटी काउन्सिल सदस्य जेम्स मिटचेलले आफूलाई “असहाय” महसुस भएको बताए।

मेयर भाय लाइल्सले सङ्घीय अधिकारीहरूले मानिसहरूको अधिकारको सम्मान गर्नुपर्ने माग राखिन्। शार्लोटका कार्यकर्ताहरूले शिकागो जस्ता सहरहरूमा प्रयोग भएका “सुरक्षा उपकरण र रणनीति” अपनाइरहेका छन्।

शार्लोटको एक आवासीय क्षेत्रमा क्रिसमस ट्री सजाइरहेका दुई जना ल्यान्डस्केपरलाई अमेरिकन बर्डर प्याट्रोलका दुई अधिकारीले पुगेर कागजात मागेको भिडियो सार्वजनिक भएको छ।

घरमालिक रेबा ह्यामिल्टनका अनुसार दुवै कामदार चुपचाप रहेपछि अधिकारीहरू केहीबेरमै भ्यान चढेर त्यहाँबाट हिँडेका थिए।

शार्लोट अमेरिकाको नर्थ क्यारोलिना राज्यको सबैभन्दा ठूलो सहर हो । यो दक्षिणपूर्वी क्षेत्रमा रहेको एक महत्त्वपूर्ण आर्थिक तथा सांस्कृतिक केन्द्र पनि हो।  शार्लोटलाई अमेरिकाको न्यूयोर्कपछि दोस्रो सबैभन्दाठूलो बैंकिङ हब मानिन्छ। यो सहर नर्थ क्यारोलिनाको दक्षिण–मध्य भागमा अवस्थित छ।

शार्लोट एक बहुसांस्कृतिक सहर हो, जहाँ अमेरिकी, अफ्रिकी-अमेरिकी, हिस्पानिक/ल्याटिनो, र एसियाली समुदायको उल्लेखनीय उपस्थिति छ। यहाँ अमेरिकाकै व्यस्त विमानस्थलमध्ये एक रहेको छ। यो सहर सडक, रेल र हवाई यातायातको प्रमुख केन्द्रका रूपमा परिचित छ।

मध्यम जलवायु, ठूलो रोजगार अवसर, पहुँचयोग्य बसोबास, र विविध संस्कृतिका कारण शार्लोट अमेरिकामा बस्नका लागि लोकप्रिय सहरहरूमध्ये एक हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com