अमेरिकाको न्यूयोर्कमा गोली प्रहार: फुटबल खेलाडी घाइते


प्रकाशित मिति : कार्तिक ३०, २०८२ आईतबार

अमेरिकाको न्यूयोर्कमा फुटबल खेलाडी क्रिस बोइडमाथि गोली प्रहार भएको छ। न्यूयोर्क जेट्सका यी खेलाडी गोली लागेर गम्भीर घाइते भएका छन्।

अमेरिकी फुटबल टीम न्यूयोर्क जेट्सका कर्नरब्याक क्रिस बोइडलाई पेटमा गोली लागेको छ। २९ वर्षका बोइड अस्पतालमा गम्भीर अवस्थामा उपचाररत छन्।

न्यूयोर्क प्रहरीले गोली लागेर अस्पताल भर्ना गरिएका व्यक्तिको परिचय सार्वजनिक गरेको छैन। तर, प्रहरीले नाम नखुलाए पनि जेट्सका प्रवक्ताले बोइड नै घाइते भएको पुष्टि गरेका छन्।

घटना मिडटाउन म्यानहट्टनमा बिहानपख भएको हो। प्रहरीले सेइ लेस नामको उच्चस्तरीय रेस्टुरेन्ट बाहिरबाट गोलीकाण्ड भएको फेला पारेको बताएको छ। घटनाबारे अनुसन्धान जारी रहेको र अहिलेसम्म कुनै पनि संदिग्ध व्यक्ति पक्राउ नपरेको न्यूयोर्क प्रहरीले बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बोइड यस वर्ष जेट्समा सामेल हुनुअघि दुई सिजन ह्युस्टन टेक्ससका लागि खेलेका थिए। त्यसअघि उनले एरिजोना कार्डिनल्समा एक सिजन र मिनेसोटा भाइकिङ्समा चार सिजन खेलेका थिए। अगस्टमा प्रशिक्षणका क्रममा बोइडको काँधमा चोट लागेपछि उनी जेट्सको घाइतेहरूको मा राखिएका थिए।

अमेरिकामा पछिल्ला वर्षहरूमा गोलीकाण्डका घटनाहरू निरन्तर बढ्दै गएको देखिन्छ। विद्यालय, रेस्टुरेन्ट, सडक तथा सार्वजनिक स्थलहरूमा हुने यस्ता आक्रमणहरूले नागरिकको सुरक्षा चिन्ताजनक बनेको छ।

सुरक्षा एजेन्सीहरूको तथ्याङ्कअनुसार, प्रत्येक वर्ष हजारौँ मानिस गोलीकाण्डमा मारिन्छन् वा घाइते हुन्छन्। हतियार नियन्त्रण गर्न कडा कानुन बन्नुपर्ने आवाज सशक्त रूपमा उठिरहेको छ, तर राजनीतिक ध्रुवीकरणका कारण आवश्यक सुधारहरू अघि बढ्न सकिरहेका छैनन्।

विशेषज्ञहरूका अनुसार मनोसामाजिक तनाव, हतियारमा सहज पहुँच र घृणामा आधारित चरम विचारधाराहरूले अमेरिकामा गोलीकाण्ड बढ्न भूमिका खेलिरहेका छन्।

लगातार भइरहेका यस्ता घटनाले अमेरिकी समाजमा भय, असुरक्षा र राजनीतिक बहसलाई अझै तीव्र बनाइरहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com