अमेरिकी सरकारको शटडाउन अन्त्य गर्ने विधेयक सिनेटद्वारा पारित, प्रतिनिधिसभाको अनुमोदन र राष्ट्रपतिको हस्ताक्षर बाँकी


प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार

अमेरिकी सिनेटले ४१ दिन लामो सरकारी बन्द (शटडाउन) अन्त्य गर्ने विधेयक पारित गरेको छ। अब प्रतिनिधिसभामा मतदान हुनेछ।

सिनेटले सोमबार राति लामो समयदेखि प्रतीक्षित वित्तीय प्याकेज पारित गरेको छ।

विधेयकले ४१ दिनदेखि जारी सरकारी बन्द अन्त्य गर्ने बाटो खोलिदिएको छ। विधेयक अब प्रतिनिधिसभामा मतदानका लागि अघि बढाइएको छ।

सिनेटमा यो विधेयक ६०-४० मतले पारित भएको हो। जसमा आठ जना डेमोक्र्याट सांसदहरूले आफ्नै पार्टीको विरोध गर्दै रिपब्लिकनहरूसँग मिलेर विधेयकको पक्षमा मतदान गरेका छन्।

अमेरिकी सङ्घीय सरकार ४१ दिनदेखि आंशिक रूपमा बन्द छ। बन्दले देशभर प्रशासनिक र आर्थिक अव्यवस्था निम्त्याएको थियो। आइतबार साँझ सिनेटमा विधेयक अघि बढाउने प्रस्ताव पारित भएपछि अन्तिम अनुमोदन सोमबार गरिएको हो।

सिनेटले सोमबार दिनभर विधेयकको विभिन्न भागमा छलफल गरी सबैलाई एउटै कानूनी प्याकेजमा समेट्ने सहमति गरेको थियो।

सरकारी कोषको व्यवस्थापन जनवरी २०२६ सम्म विस्तार गर्ने, तीन वर्षे बजेट योजना विभिन्न सङ्घीय निकाय र कार्यक्रमका लागि पारित गर्ने, शटडाउनका कारण जागिर गुमाएका सङ्घीय कर्मचारीहरूलाई पुनः नियुक्त गर्ने व्यवस्था विधेयकले गरेको छ।

डेमोक्र्याटहरूले दिएको आठ मतको सर्तमा रिपब्लिकनहरूले डिसेम्बर मध्यसम्म स्वास्थ्य सेवा कर–छूट विस्तार गर्ने प्रस्तावमा मतदान गर्न सहमति जनाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, यो सम्झौताले डेमोक्र्याट समर्थक आधारभूत समूहमा असन्तुष्टि बढाएको छ। किनभने उनीहरूले स्वास्थ्य सेवा सुधार अहिलेको प्याकेजमै समावेश हुनुपर्ने माग गरेका थिए।

विधेयक अब प्रतिनिधिसभामा पठाइएको छ। सभामुख माइक जोनसनले सांसदहरूलाई “तत्काल वासिङ्टन फर्कन” निर्देशन दिँदै यसै हप्ताभित्र मतदान हुने अपेक्षा व्यक्त गरेका छन्।

सिनेटका नेता जोन थ्यूनले भने राष्ट्रपतिले पनि विधेयकमा हस्ताक्षर गर्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिनिधिसभाले पछिल्लो पटक सेप्टेम्बर १९ मा मतदान गरेको थियो। अब विधेयक पारित भएमा अमेरिका फेरि पूर्ण रूपमा सञ्चालनमा आउनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com