अमेरिकी कांग्रेसनल बजेट अफिसमा साइबर आक्रमण, विदेशी ह्याकरको संलग्नता रहेको आशंका 


प्रकाशित मिति : कार्तिक २१, २०८२ शुक्रबार

अमेरिकी कंग्रेसनल बजेट अफिसमा भएको साइबर सुरक्षासम्बन्धी घटना सार्वजनिक भएपछि अमेरिकी सरकारी निकायहरू फेरि एक पटक डिजिटल सुरक्षाका सवालमा चिन्तित बनेका छन्।

कार्यालयका अनुसार कम्प्युटर प्रणालीमा भएको एक सुरक्षा उल्लङ्घनको पहिचान गरी नियन्त्रणमा लिइएको छ। यस घटनापछि कार्यालयले थप निगरानी र नयाँ सुरक्षा उपायहरू लागू गरेको बताएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार प्रारम्भिक अनुसन्धानले यो ह्याक विदेशी ह्याकर समूहद्वारा गरिएको हुन सक्ने सङ्केत गरेको जनाइएको छ। यद्यपि, कार्यालयले आधिकारिक रूपमा विदेशी संलग्नता पुष्टि नगरेको जनाएको छ।

“घटना अनुसन्धान अन्तर्गत छ । कांग्रेसका लागि आवश्यक कामहरू सामान्य रूपमा जारी छन् ।” कार्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेनेट सर्जेन्ट एट आर्म्स अफिसका अधिकारीहरूले मंगलबार सांसदहरूका कार्यालयहरूलाई एक सूचना पठाउँदै “साइबर घटना” को चेतावनी दिएका थिए।

ती अधिकारीहरूले बजेट अफिस र सेनेट कार्यालयबीचको इमेल सञ्चार ह्याकरहरूले ह्याक गरेको हुन सक्ने बताउँदै फेला परेको डेटा बजेट अफिसबाट आएको जस्तो देखिने फिशिङ इमेलहरू बनाउन प्रयोग हुन सक्ने जोखिम औँल्याएका थिए।

साथै, अधिकारीहरूले सांसदका कार्यालयहरूलाई बजेट अफिसबाट आएको दाबी गर्ने इमेल आवाज वा सन्देशहरूको स्रोत पुष्टि गर्न आग्रह गरेका छन्।

बजेट अफिस सन् १९७४ मा स्थापित एक गैर-दलीय संस्था हो, जसले अमेरिकी कांग्रेसका लागि बजेट विश्लेषण, आर्थिक अध्ययन र वित्तीय नीतिसम्बन्धी तथ्याङ्क प्रदान गर्छ। यो संस्थाले ह्वाइट हाउस बजेट अफिस र अन्य सङ्घीय निकायहरूद्वारा उपलब्ध जानकारीको स्वतन्त्र विकल्पका रूपमा काम गर्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com