अमेरिकामा ६ वर्षीय विद्यार्थीले गोली हानेर घाइते भएकी शिक्षिकाले १ करोड डलर क्षतिपूर्ति पाउने


प्रकाशित मिति : कार्तिक २१, २०८२ शुक्रबार

jury

फोटो: वेस्ली टिङ्गी / ओपनभर्स

अमेरिकामा छ वर्षका विद्यार्थीले गोली हानेपछि घाइते भएकी शिक्षिकालाई १० मिलियन डलर क्षतिपूर्ति दिनुपर्ने भएको छ।

भर्जिनिया राज्यमा सन् २०२३ मा आफ्नै ६ वर्षीय विद्यार्थीले गोली हानेपछि शिक्षिका एबी ज्वर्नरलाई ज्यूरीले १ करोड अमेरिकी डलर क्षतिपूर्ति दिने निर्णय गरेको हो। यो फैसला विद्यालयका प्रशासक इबेनी पार्करविरुद्धको आगामी आपराधिक मुद्दाको प्रारम्भिक सङ्केतका रूपमा आएको छ।

गोली लागेकी ज्वर्नरले न्यूपोर्ट न्युजस्थित रिचनेक प्राथमिक विद्यालयकी तत्कालीन सहायक प्राचार्य इबेनी पार्करविरुद्ध मुद्दा दायर गरेकी थिइन्।

विद्यार्थीले बन्दुक लिएर विद्यालय आएको जानकारी भए पनि पार्करले कुनै कदम नउठाएको भन्दै उनले आरोप लगाएकी छिन्। सन् २०२३ को जनवरीमा ज्वर्नरलाई आफ्नै कक्षाकोठामा पढाइरहेको समयमा ती विद्यार्थीले गोली हानेका थिए। गोली उनको छाती र हातमा लागेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ज्वर्नरकी कानुनी प्रतिनिधि डायन टोस्कानोले यो फैसलाले रिचनेक विद्यालयमा भएको घटना गलत थियो र यस्तो कुरा सह्य नहुने तथा विद्यालयमा सुरक्षालाई पहिलो प्राथमिकता दिनैपर्छ भन्ने सन्देश दिएको बताएकी छिन्।

अब दुवै पक्षका वकिलहरू अदालतमा फैसलापछिको प्रक्रियाका लागि भेट्नेछन्। अन्तिम निर्णयपछि पार्करले यो फैसला विरुद्ध अपिल गर्न पाउनेछिन्।

पार्करको कानुनी बचाउ खर्च भर्जिनिया रिस्क सेयरिङ एसोसिएसन अर्थात् विद्यालय क्षेत्रको बीमा कोषले व्यहोरेको हो। अदालतले क्षतिपूर्ति तोकेमा सो रकम बीमाबाट भुक्तानी हुनेछ। ज्यूरीले झन्डै साढे पाँच घण्टासम्म विचार–विमर्श गरेर फैसला सुनाएको हो।

यो नागरिक मुद्दामा पराजित भइसकेकी पार्कर आगामी महिना बालबालिकामाथि लापरवाहीका आठ फौजदारी मुद्दा सामना गर्न अदालतमा उपस्थित हुने छिन्।

भर्जिनिया विश्वविद्यालयका कानुन प्राध्यापक डेरेल के. ब्राउनका अनुसार आपराधिक मुद्दाअघि नागरिक मुद्दा चलाउनु “अत्यन्त असामान्य” कुरा हो। उनका अनुसार आपराधिक मुद्दामा पार्करले आफ्नो जिम्मेवारीअनुसार बालबालिकाको सुरक्षा सुनिश्चित गर्न के गर्न बाँकी राखिन् भन्ने कुरा मुख्य प्रश्न हुनेछ।

ज्वर्नरको कानुनी टोलीले बन्दुकको चेतावनी पाएको बेला पार्करले तुरुन्त कदम नचालेको आरोप लगाएको थियो। ज्वर्नरले गोलीकाण्डपछि अझै मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेकी छु भनेर अदालतमा बताइन्।

यो मुद्दाले अमेरिकामा विद्यालयभित्र बालबालिकाबाट हुने गोलीकाण्डमा जिम्मेवारी कसको हुन्छ भन्ने कानुनी दृष्टान्त कायम गर्ने सम्भावना राखेको बताइन्छ। यस वर्षमात्र अमेरिकाभर ६४ वटा विद्यालय गोलीकाण्ड भएका छन्, जसमा २७ वटा के-१२ विद्यालय स्तरमा भएका हुन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com