ट्रम्प प्रशासनको गोप्य ब्रिफिङ विवाद: डेमोक्र्याटलाई जानकारी नदिइएको खुलासा
प्रकाशित मिति : कार्तिक १३, २०८२ बिहीबार
अमेरिकी रक्षा मन्त्री पीट हेगसेथ
ट्रम्प प्रशासनले अमेरिकी सेनाद्वारा गरिएका आक्रमणहरूबारे डेमोक्र्याट सदस्यहरूलाई जानकारी नै नदिई केवल रिपब्लिकन सांसदहरूलाई मात्र गोप्य ब्रिफिङ दिएको आरोप लागेको छ।
विशेष गरी, अमेरिकी सेनाले “लागूपदार्थ तस्करीका डुङ्गाहरू” माथि गरेका आक्रमणहरूबारे रिपब्लिकन सांसदहरूलाई मात्र गोप्य ब्रिफिङ दिइएको खुलासा भएको छ। एकजना शीर्ष सिनेट डेमोक्र्याटले यो कुराको पुष्टि गरेका छन्।
गोप्य ब्रिफिङ भन्नाले कुनै संवेदनशील वा सुरक्षासम्बन्धी विषयमा सीमित व्यक्ति वा अधिकारीहरूलाई मात्र दिइने जानकारी हो, जसको विवरण सार्वजनिक गरिँदैन। यसको मुख्य उद्देश्य सुरक्षा, रणनीति र संवेदनशील जानकारीको रक्षा गर्नु हो।
आक्रमण योजना, सैनिकको स्थान, वा रणनीतिक विवरण बाहिर गएमा मिसन असफल हुनसक्ने वा सैनिकको ज्यान जोखिममा पर्नसक्ने भएकाले ब्रिफिङ गोप्य राखिन्छ। अन्तर्राष्ट्रिय कानुन, सम्झौता, वा राजनीतिक कारणले पनि कहिलेकाहीँ जानकारी सार्वजनिक गर्न नपाइने हुन्छ।
सिनेट इन्टेलिजेन्स कमिटीका उपाध्यक्ष मार्क वार्नर ले प्रशासनको उक्त कदमको तीव्र आलोचना गरेका छन्। उनका अनुसार, पार्टीगत चालका कारण कांग्रेसको युद्ध शक्तिसम्बन्धी जिम्मेवारी र देशका सैनिकहरूको सम्मानमाथि ठेस पुगेको छ।
वार्नरले ट्रम्प प्रशासनले रिपब्लिकनहरूलाई दिएको ब्रिफिङमा न्याय मन्त्रालयको ओएलसी द्वारा तयार गरिएको गोप्य कानुनी राय समेत प्रस्तुत गरिएको खुलासा गरेका छन्। वार्नरको भनाइमा, “अमेरिकी सेनाको आक्रमणबारे डेमोक्र्याट सांसदहरूलाई बाहिर राख्नु र कानुनी आधार गोप्य राख्नु अस्वीकार्य र खतरनाक कदम हो।”
यसैबीच, युद्ध मन्त्री पिट हेगसेथ ले अमेरिकी सेनाले ब्रिफिङ दिएकै दिन प्रशान्त महासागरमा अर्को डुङ्गामाथि आक्रमण गरेको र उक्त आक्रमणमा चार जनाको मृत्यु भएको बताएका छन्।
यो आक्रमण हालसम्मको १४ औँ अमेरिकी सैन्य कारबाही हो। यी कारबाहीमा १५ डुङ्गामध्ये अहिलेसम्म ६१ जनाको मृत्यु भइसकेको बताइन्छ। हालसम्म सातवटा गोप्य ब्रिफिङहरू भएका छन्। तर, केही सांसदहरूले भने यो दाबीलाई भ्रामक भनेका छन्।








