परमाणु हतियार परीक्षण ‘तुरुन्तै’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
प्रकाशित मिति : कार्तिक १२, २०८२ बुधबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु हतियार परीक्षण “तुरुन्तै” सुरु गर्न युद्ध मन्त्रालयलाई निर्देशन दिएका छन् । उनले यो घोषणा चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटअघि गरेका हुन् ।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “अमेरिकासँग संसारकै सबैभन्दा धेरै परमाणु हतियार छन् । दोस्रो स्थानमा रुस छ । चीन धेरै पछाडि छ, तर चीन पाँच वर्षभित्र अमेरिका र रुसको नजिक पुग्नेछ ।”
उनले थपे, “अन्य देशहरूको परीक्षण कार्यक्रमका कारण मैले युद्ध मन्त्रालयलाई परमाणु हतियारको परीक्षण पनि बराबरी रूपमा सुरु गर्न निर्देशन दिएको छु । यो प्रक्रिया तुरुन्तै सुरु हुनेछ ।”
यो निर्णयले अमेरिकाको दीर्घकालीन नीतिमा ठूलो परिवर्तन ल्याउने सङ्केत गरेको छ । अमेरिकी कङ्ग्रेस पुस्तकालयका अनुसार अमेरिकाले सन् १९९२ देखि स्वैच्छिक रूपमा परमाणु विस्फोट परीक्षणमा रोक लगाएको थियो ।
यसैबीच, रोमानियाबाट अमेरिकी सेनाको सङ्ख्या घटाइएको बताइएको छ । यसले नेटोको पूर्वी सिमानामा प्रभाव पार्ने सङ्केत देखिएको छ ।
रोमानियाको रक्षा मन्त्रालयले अमेरिकाले नेटोको पूर्वी सिमानामा तैनाथ आफ्ना केही सैनिकहरू घटाउने निर्णय गरेको बताएको हो । अहिले रोमानियामा तैनाथ १,७०० अमेरिकी सैनिकमध्ये करिब ९०० देखि १,००० सैनिक मात्र रहनेछन् ।
ट्रम्प प्रशासनका नयाँ प्राथमिकताहरूका कारण अमेरिकी सैन्य उपस्थितिमा यो निर्णय भएको हुन सक्ने अनुमान गरिएको छ ।
पेन्टागनले भने यो कदमलाई “युरोपबाट फिर्ती” वा नेटो र अनुच्छेद ५ प्रति अमेरिकी प्रतिबद्धता घटाउने सङ्केत नभएको स्पष्ट पारेको छ ।
नेटोको अनुच्छेद ५ मा कुनै सदस्य राष्ट्रमाथि आक्रमण भएमा सबै सदस्यहरूले उसको पक्षमा रक्षा गर्ने प्रतिज्ञा उल्लेख गरिएको छ । यो अनुच्छेदलाई सम्भावित रुसी आक्रमणको प्रमुख प्रतिरोधका रूपमा लिइँदै आएको छ ।
तर, रोमानियाबाट अमेरिकी सैनिक घटाउने निर्णयले भने पूर्वी युरोपेली राष्ट्रहरूमा चिन्ता बढाएको छ । तथ्याङ्कअनुसार, अमेरिकाका १ लाखभन्दा बढी सैनिक अहिले युरोपमा तैनाथ छन् ।








