भेनेजुएला विरुद्ध गुप्त आक्रमण सुरु गर्न सीआईएलाई राष्ट्रपति ट्रम्पको निर्देशन


प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार

अमेरिकाले भेनेजुएलामा आक्रमणको तयारी गरेको छ । तर यो आक्रमण प्रारम्भमा गुप्त रूपमा सञ्चालन गरिने अधिकारीहरूले बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा गुप्त कारबाही सञ्चालन गर्न सीआईएलाई अनुमति दिएको पुष्टि गरेका छन् ।

पछिल्ला हप्ताहरूमा अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा लागूपदार्थ बोकेको शंकास्पद पाँचवटा डुङ्गामाथि आक्रमण गर्दा २७ जनाको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूले यी कारबाहीहरूलाई “गैरन्यायिक हत्या” भनेर टिप्पणी गरेका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले भेनेजुएलाको स्थलगत क्षेत्रमा पनि कारबाहीको तयारी गरिरहेको बताए ।

ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोमाथि दबाब बढाउँदै आएका छन् । अमेरिका र उसका सहयोगीहरूले विवादास्पद निर्वाचनपछि मादुरोलाई राष्ट्रपतिको रूपमा अस्वीकार गर्दै आएका छन् ।

ट्रम्पको स्वीकृतिले सीआईएलाई भेनेजुएलामा स्वतन्त्र रूपमा वा सैन्य अभियानको भागको रूपमा कारबाही गर्ने अनुमति दिएको छ ।

सीआईएले त्यहाँ कारबाही सुरु गरेको छ वा छैन भन्ने कुरा सार्वजनिक गरिएको छैन ।

भेनेजुएलाले आफ्ना जेलका कैदीहरूलाई अमेरिकामा पठाएको र त्यहाँबाट लागूपदार्थहरू समुद्री मार्ग हुँदै अमेरिका भित्रिरहेका कारण आक्रमण गर्न थालिएको ट्रम्पले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही दिनअघि अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकैको डुङ्गामा आक्रमण गरेको थियो, जसमा ६ जनाको मृत्यु भएको थियो । तर अमेरिकी अधिकारीहरूले कुन संगठन संलग्न थियो वा मारिएका व्यक्तिहरू को थिए भन्ने खुलाएका छैनन् ।

मादुरोले त्यसको जवाफमा राजधानी काराकास नजिकै पेटारे र मिरान्डा राज्यमा सैन्य अभ्यास गर्न आदेश दिएका छन् ।

त्यहाँका गृहमन्त्री डियोसदादो काबेलोले अमेरिकी सरकार भेनेजुएलाको विशाल प्राकृतिक स्रोत लुट्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

ट्रम्प प्रशासनले हालै ८ युद्धपोत, एउटा आणविक शक्ति पनडुब्बी र लडाकु विमानहरू क्यारिबियनमा पठाएको छ । ह्वाइट हाउसका अनुसार यो कदम “लागूपदार्थ तस्करी नियन्त्रण” को प्रयासको हिस्सा हो ।

अमेरिकी अधिकारीहरूले भेनेजुएलाका राष्ट्रपति मादुरोमाथि “कार्टेल अफ द सन्स” नामक समूहको हिस्सा भएको आरोप लगाएका छन् । तर मादुरोले यी सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com