अमेरिकाको साउथ क्यारोलिनामा गोलीकाण्ड: ४ जनाको ज्यान गयो
प्रकाशित मिति : आश्विन २५, २०८२ आईतबार
अमेरिकाको दक्षिणी राज्य साउथ क्यारोलिनामा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ । २० जनाभन्दा बढी घाइते भएका छन्। भीडभाड भएको बारमा सामूहिक गोलीकाण्ड भएको अधिकारीहरूले बताएका छन्।
बिहानको सुरुवाती समयमा सेन्ट हेलेना टापुमा रहेको लोकप्रिय बारमा सयौँ मानिसहरू भेला भएका बेला अचानक गोली चल्न थालेको थियो।
ब्यूफोर्ट काउन्टी शेरीफ कार्यालयका अनुसार गोली चल्ने बित्तिकै पीडित र प्रत्यक्षदर्शीहरू नजिकैका व्यवसायिक स्थलहरूमा भागेर आश्रय लिएका थिए।
शेरीफ कार्यालयका अनुसार चार जनाको घटनास्थलमै मृत्यु भएको हो। कम्तीमा २० जना घाइते भएका छन्, जसमध्ये चार जनाको अवस्था गम्भीर छ।
घटनाको अनुसन्धान जारी रहेको र सम्भावित अभियुक्तहरूको पहिचानका लागि खोजी भइरहेको शेरीफ कार्यालयले जनाएको छ।
प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका बेला धेरै मानिसहरू गोली लागेको अवस्थामा भेटिएका थिए।
यो गोलीकाण्ड लक्षित रूपमा गरिएको हो वा अनियमित रूपमा भएको हो भन्ने स्पष्ट भएको छैन।
गोलीकाण्ड भएको विलीज बार एन्ड ग्रिल नामक रेस्टुरेन्टले गुल्लाह संस्कृतिबाट प्रेरित खानपान प्रदान गर्छ।
गुल्लाह गीची समुदाय दक्षिणपूर्वी अमेरिकी तटमा रहेका अफ्रिकी दासहरूको सन्तान हुन्। उनीहरूलाई पहिला साउथ क्यारोलिनासहितका प्लान्टेसनहरूमा काम गर्न लगाइन्थ्यो।
सन् २०२२ मा पनि यही स्थानमा गोलीकाण्ड भएको थियो। त्यसबेला “आइल्याण्ड ग्रिल” नाममा सञ्चालित बारमा गोली चल्दा दुई जना घाइते भएका थिए।
यसै महिनाको सुरुवातमा सेन्ट हेलेना टापुदेखि करिब १६० किलोमिटर उत्तरमा रहेको साउथ क्यारोलिना स्टेट युनिभर्सिटीमा भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा एक जनाको मृत्यु भएको थियो भने अर्का एकजना घाइते भएका थिए।
अमेरिकामा गोलीकाण्ड निरन्तर बढ्दो समस्या बनेको छ। बन्दूकसम्बन्धी हिंसाले देशका विद्यालय, समुदाय र सार्वजनिक स्थलहरूमा गम्भीर मानवीय क्षति पुर्याइरहेको छ। अमेरिकामा हरेक वर्ष हजारौँ मानिस गोलीकाण्डका कारण मारिन्छन् वा घाइते हुन्छन्।
सन् २०२४ मा मात्र ६०० भन्दा बढी सामूहिक गोलीकाण्ड भएका थिए। तीमध्ये धेरै घटना विद्यालय, संगीत कार्यक्रम, खेलकुद मैदान र सडकमा भएका थिए।
अमेरिकामा बन्दूक खरिद गर्ने कानूनी प्रक्रिया सरल भएकाले हतियारको दुरुपयोग बढेको छ। कडा बन्दूक नियन्त्रण नीतिको अभावले गर्दा यसलाई नियन्त्रण गर्न कठिन बनेको छ।








