इजरायल र हमासबीच शान्ति योजनाको पहिलो चरणमा सम्झौता भएको राष्ट्रपति ट्रम्पद्वारा घोषणा
प्रकाशित मिति : आश्विन २१, २०८२ बुधबार
फोटो : एएफपी/रासस
इजरायल र हमास दुवैले गाजाका लागि शान्ति योजनाको पहिलो चरणमा सम्झौता गरेका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षबीच गाजाका लागि शान्ति योजनाको पहिलो चरणमा “सम्झौता भएको” घोषणा गरेका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “यसको अर्थ सबै बन्धकहरू चाँडै मुक्त हुनेछन्, र इजरायली सेना सहमति गरिएको समयसम्म फिर्ता हुनेछन्। यो बलियो, दीगो र स्थायी शान्तितर्फको पहिलो कदम हो।”
यो घोषणा मिश्रमा तीन दिनसम्म चलेको अप्रत्यक्ष वार्तापछि आएको हो। मिश्र, कतार, टर्की र अमेरिकी अधिकारीहरूले उक्त वार्तामा मध्यस्थता गरेका थिए, जसको लक्ष्य दुई वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्नु थियो। इजरायल र हमास दुवैले पनि सम्झौता भएको पुष्टि गरेका छन्।
तर, ट्रम्पको पोस्टमा वार्ताका केही प्रमुख विवादित विषयहरू, विशेषगरी हमासको निशस्त्रीकरण र गाजाको भावी प्रशासनबारे भने स्पष्टता दिइएको देखिँदैन।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘एक्स’मा लेखेका छन्, “आज महान् दिन हो,” र थपे, “हामी भोलि सरकारले यो सम्झौता अनुमोदन गर्न र हाम्रा सबै प्रिय बन्धकहरूलाई घर ल्याउन बैठक बोलाउनेछौं।”
हमासले सम्झौतामा इजरायली सेनाको गाजाबाट फिर्ती र बन्धक–बन्दी साटासाट समावेश हुने पुष्टि गरेको छ। हमास समूहले ट्रम्प, ग्यारेन्टर देशहरू र अन्य अरब राष्ट्रहरूलाई सम्झौताका सबै शर्तहरू इजरायलले पूर्ण रूपमा कार्यान्वयन गर्न दबाब दिन आह्वान गरेको छ।
ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले बन्धकहरू सोमबारदेखि मुक्त हुन सुरु गर्ने बताएका छन् । कतारी परराष्ट्र मन्त्री माजिद अल अन्सारीले थप विवरण चाँडै सार्वजनिक गरिने र यो सम्झौता “युद्ध अन्त्य गर्ने, इजरायली बन्धक र प्यालेस्टिनी बन्दीहरूलाई मुक्त गर्ने तथा मानवीय सहायता प्रवेश सुनिश्चित गर्ने” दिशामा हुने बताएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्पलाई एउटा नोट यसअघि हस्तान्तरण गरेपछि सम्झौता नजिकिएको सङ्केत देखिएको थियो। गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा इजरायली आक्रमणबाट कम्तीमा आठ जनाको मृत्यु भएको छ।
यो पछिल्ला सात दिनको सबैभन्दा कम मृत्युदर हो। अस्पतालहरूले राहत वितरण केन्द्रमा खाद्य सामग्री लिन खोज्दा दुई जना मारिएको बताएका छन्।
इजरायलले ७ अक्टोबर २०२३ मा हमास–नेतृत्वको आक्रमणपछि गाजामा सैन्य कारबाही सुरु गरेको थियो। त्यस आक्रमणमा करिब १,२०० जना मारिएका र २५१ जनालाई हमासले बन्धक बनाएका थिए।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हमलाबाट अहिलेसम्म ६७,१८३ जना मारिएका छन्, जसमा २० हजार १७९ जना बालबालिका छन्।








