अमेरिकी सर्वोच्च अदालतको नयाँ कार्यकाल सुरु: ट्रम्पको कार्यकारी शक्तिको सीमा परीक्षण हुने बलियो सम्भावना
प्रकाशित मिति : आश्विन २०, २०८२ मंगलबार
फोटो : रासस
अमेरिकी सर्वोच्च अदालतको नयाँ कार्यकाल सुरु भएको छ। यो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी अधिकारको सीमा निर्धारण हुन सक्ने बलियो सम्भावना छ। भविष्यमा थप विवादास्पद मुद्दाहरू पनि सर्वोच्च अदालतमा आउन सक्ने सम्भावना उत्तिकै छ।
ह्वाइट हाउसमा पुनः फर्किएको आठ महिनामा ट्रम्पले आफ्नो कार्यकारी शक्तिको सीमा कति रहेछ भनेर पटक–पटक परीक्षण गर्दै आएका छन्।
नयाँ नीतिहरू लागू गर्नु,संघीय बजेट र कर्मचारी संख्या अप्रत्याशित रूपमा घटाउनु,स्वतन्त्र मानिएका एजेन्सीहरूलाई आफ्नो प्रत्यक्ष नियन्त्रणमा ल्याउने प्रयास गर्नु ट्रम्पले प्रयोग गरेका कार्यकारी शक्तिका उदाहरणहरू हुन।
ट्रम्पले राज्यका नेशनल गार्ड युनिटहरू नियन्त्रणमा लिई “सार्वजनिक अस्थिरता र अपराध बढेको” भन्दै तिनीहरूलाई विभिन्न सहरहरूमा पठाउने प्रयाससँग कतिपय विवादास्पद कामहरू सम्बन्धित छन्। पछिल्ला कदमहरूको स्थानीय तथा राज्य सरकारहरूले विरोध गरेका छन्।
संघीय न्यायाधीश करिन इमरगुटले पोर्टल्यान्डमा ट्रम्पको नेशनल गार्ड परिचालन रोक्न आदेश जारी गरेकी छन्। उक्त निर्णय अब अपिल अदालतमा पुनरावलोकन हुँदैछ। न्यायाधीश इमरगुटले आफ्नो आदेशमा लेखेकी छन्, “यो संवैधानिक कानुनको देश हो, सैनिक शासनको होइन।”
पछिल्ला वर्षहरूमा सर्वोच्च अदालतले ट्रम्प प्रशासनका आपतकालीन निवेदनहरूमा बारम्बार अन्तरिम आदेशहरू जारी गर्दै आएको छ। ती आदेशहरूले राष्ट्रपति पदका निर्णयहरूलाई कानुनी चुनौतीका बीच पनि अघि बढ्न अनुमति दिएका छन्।
नयाँ कार्यकालमा सर्वोच्च अदालत र तल्लो अदालतहरूबीचको रस्साकस्सी मुख्य शक्तिको विषय बन्ने अवस्था आउन सक्ने देखिन्छ।
शाडो डकेट अदालत प्रणालीको आलोचना वामपन्थी कानुनविद् र राजनीतिज्ञहरूले गर्दै आएका छन्। ती आदेशहरू अन्तरिम हुने, कानुनी तर्क न्यून हुने र तल्लो अदालतहरूलाई स्पष्ट दिशानिर्देश नदिने भएकाले पारदर्शिता घटेको उनीहरूको भनाइ छ।
“अदालतले विवादास्पद र उच्च प्रोफाइल मुद्दाहरू समाधान गर्न ‘शाडो डकेट’ मा बढ्दो निर्भरता देखाएको छ। यसमा पारदर्शिता आवश्यक देखिन्छ,” आलोचकहरू बताउँछन्। शाडो डकेट सर्वोच्च अदालतको एक छिटो तर अपारदर्शी निर्णय प्रक्रिया हो।
यसमा मौखिक बहस हुँदैन। अदालतले पूर्ण लिखित निर्णय वा कानुनी तर्क प्रस्तुत गर्दैन। निर्णय प्रायः एक वा दुई पृष्ठको छोटो आदेशका रूपमा आउँछ। यसले तत्काल नीति रोक्ने, लागू गर्न दिने, वा अस्थायी रूपमा मान्यता दिने जस्ता असर पार्न सक्छ।
तर आगामी महिनाहरूमा अदालतले राष्ट्रपतिको शक्तिसँग सम्बन्धित मुद्दाहरू प्रत्यक्ष रूपमा सुन्नेछ र विस्तृत कानुनी व्याख्यासहित निर्णय गर्नेछ।
अदालतले संघीय खर्च कटौती, तल्लो तहका कर्मचारी बर्खास्ती, र आक्रामक आप्रवासन नीतिहरूमा समेत ट्रम्पको अधिकारको सीमा निर्धारण गर्नेछ।
हालका महिनाहरूमा अदालतले जन्मसिद्ध अमेरिकी नागरिकता समाप्त गर्ने ट्रम्पको प्रयासबारे निर्णय गर्न सहमति जनाएको छैन। तर, निकट भविष्यमा यो विषय पनि एजेन्डाका रूपमा आउन सक्ने सम्भावना रहेको छ।
पछिल्लो प्यु फाउन्डेशनको सर्वेक्षणअनुसार अदालतप्रतिको जनमत लगभग बराबर जस्तै छ। रिपब्लिकनहरू अदालतको समर्थनमा छन् भने डेमोक्र्याटहरूले कडा विरोध गरिरहेका छन्।








