गाजामा बमबारी तत्काल रोक्न इजरायललाई ट्रम्पको आदेश
प्रकाशित मिति : आश्विन १६, २०८२ शुक्रबार
फोटो : एएफपी/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई गाजामा बमबारी तत्काल रोक्न आदेश दिएका छन्।
हमासले बन्धकहरू छोड्ने र अमेरिकी शान्ति योजनाका केही शर्तहरू स्वीकार गर्ने सहमति जनाएको भन्दै ट्रम्पले इजरायललाई गाजामा बमबारी तत्काल रोक्न आदेश दिएका हुन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले हमासको प्रतिक्रियापछि इजरायल ट्रम्पको गाजा योजनाको पहिलो चरण तत्काल कार्यान्वयनको तयारीमा रहेको जनाएको छ। पहिलो चरणमा इजरायली बन्धकहरूको मुक्तिलाई प्राथमिकता दिइएको उल्लेख छ।
हमासले आफ्नो प्रतिक्रियामा कैदी आदानप्रदान, युद्धविराम, राहत प्रवेश र गाजाको प्रशासन स्वतन्त्र प्राविधिक समूहलाई हस्तान्तरण गर्ने प्रस्तावमा सहमति जनाएको छ। तर, निशस्त्रीकरण र इजरायली चरणबद्ध फिर्तीका विषयमा स्पष्ट धारणा दिएको छैन।
कतारले भने इजिप्ट र अमेरिकासँग मिलेर मध्यस्थतामार्फत वार्ता अगाडि बढाउने जनाएको छ।
ट्रम्पको योजनामा तत्काल युद्धविराम, सबै बन्धकहरूको रिहाइ साटोमा इजरायलमा रहेका प्यालेस्टिनी कैदीहरूको रिहाइ, इजरायली सेनाको चरणबद्ध फिर्ती, हमासको निशस्त्रीकरण र अन्तर्राष्ट्रिय निकायको नेतृत्वमा अस्थायी सरकार गठन जस्ता बुँदा समावेश छन्। तर, शान्ति योजनामा रहेका निशस्त्रीकरण जस्ता विवादास्पद विषयमा भने अझै सहमति जुट्न सकेको छैन।
इजरायली सञ्चारमाध्यमहरूले देशको राजनीतिक नेतृत्वले सेनालाई गाजामा आक्रमणका तीव्र गतिविधि घटाउन आदेश दिएको बताएका छन्।
तर इजरायली सेनाका प्रमुखले सैनिकहरूलाई पहिलो चरण कार्यान्वयन गर्न तयार रहन निर्देशन दिँदै गाजामा सैन्य गतिविधि घटाउने कुरा भने स्पष्ट नपारेको बताइएको छ।
हमासले ट्रम्पद्वारा प्रस्तुत २० बुँदे योजना स्वीकृत गरेको छ। अमेरिकी राष्ट्रपतिले आइतबारसम्म सहमति नजनाए ‘गम्भीर परिणाम’ भोग्नुपर्ने हमासलाई चेतावनी दिएका थिए।
ट्रम्पले आफू मात्र गाजामा शान्ति ल्याउन सक्षम नेता भएको बताउँदै दुई वर्ष लामो युद्ध अन्त्य गर्न ठूलो राजनीतिक पूँजी लगानी गरेको दाबी गरेका छन्। यस युद्धमा लाखौँ मानिस मारिएका छन्। इजरायल अन्तर्राष्ट्रिय स्तरमा अझ बढी एक्लिएको अवस्थामा रहेको छ।
ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा लेख्दै भनेका छन्,
“हमासले अब दीर्घकालीन शान्तिको तयारी देखाएको छ। अब जिम्मेवारी नेतान्याहुको सरकारको छ। इजरायलले तुरुन्तै गाजामा बमबारी रोक्नुपर्छ ताकि बन्धकहरूलाई सुरक्षित र चाँडै मुक्त गर्न सकियोस्।”
नेतान्याहुको कार्यालयले इजरायलले युद्ध अन्त्यका लागि राष्ट्रपतिको दृष्टिकोणसँग मेल खाने आफ्ना सिद्धान्तअनुसार पूर्ण सहकार्य गर्ने बताएको छ।
तर, ट्रम्पको सन्देशपछि पनि गाजाको तल्लातिनी सडक र रेमल इलाकामा इजरायली ट्याङ्क र हवाई हमलाहरू भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
गाजा स्वास्थ्य अधिकारीका अनुसार, इजरायली आक्रमणबाट हालसम्म ६६ हजारभन्दा बढी मानिस मारिएका छन्। मारिनेमा ठूलो सङ्ख्या सर्वसाधारणको रहेको छ। खाद्य सहयोग रोकिएपछि गाजाका केही भागमा भोकमरीको अवस्था रहेको छ।
संयुक्त राष्ट्रसङ्घको जाँच आयोग र मानवअधिकार विज्ञहरूले इजरायललाई गाजामा “नरसंहार” गरेको ठहर गरिसकेका छन्। तर नेतान्याहुको सरकार यसलाई आत्मरक्षाको कदम बताउँदै आएको छ।








