राष्ट्रपति ट्रम्पको नेशनल गार्ड तैनाथ गर्ने आदेशविरुद्ध ओरेगन राज्यद्वारा मुद्दा दायर
प्रकाशित मिति : आश्विन ११, २०८२ आईतबार
नेशनल गार्ड । फाइल तस्वीर
अमेरिकाको पोर्टल्यान्डमा नेशनल गार्ड तैनाथ गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशविरुद्ध ओरेगन राज्यले मुद्दा दायर गरेको छ। ट्रम्पको आदेशअनुसार, आगामी दुई महिनाका लागि नेशनल गार्डका कम्तीमा २०० सदस्य पोर्टल्यान्डमा तैनाथ गर्ने तयारी भइरहेको बेला यो मुद्दा दर्ता भएको हो। यससँगै, ट्रम्पसँग ओरेगनमा नेशनल गार्ड पठाउने कानुनी अधिकार छ वा छैन भन्ने प्रश्न अनिश्चित बनेको छ।
युद्ध मन्त्री पिट हेगसेथले पठाएको मेमोमा यी गार्डहरूलाई ‘संघीय सम्पत्तिको रक्षा गर्न’ पठाइने उल्लेख छ। उनीहरू प्रदर्शन भइरहेको वा हुन सक्ने आकलन गरिएका क्षेत्रमा परिचालन हुनेछन्। ट्रम्पले शनिबार उनीहरूलाई ‘पूर्ण बल प्रयोग गर्न’ अनुमति दिएको बताएका थिए।
ओरेगनका अटर्नी जनरल ड्यान रेफिल्डले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गर्दै यस कदमलाई ‘उत्तेजक र मनमानीपूर्ण’ भनेका छन्। उनले यो कदमले सार्वजनिक सुरक्षालाई कमजोर बनाउने र ‘जनआक्रोश भड्काउने खतरा’ रहेको दाबी गरेका छन्।
ओरेगनकी गभर्नर टिना कोटेकले पनि ट्रम्पको दाबीलाई अस्वीकार गर्दै पोर्टल्यान्डमा कुनै राष्ट्रिय सुरक्षा खतरा नरहेको र समुदाय शान्त तथा सुरक्षित रहेको बताएकी छिन्।
तर, ट्रम्पले भने पोर्टल्यान्डलाई ‘युद्धग्रस्त सहर’ को संज्ञा दिएका छन्। उनले ‘आइस’केन्द्रहरूलाई ‘एन्टिफा र घरेलु आतंकवादी’ को हमलाबाट जोगाउन नेशनल गार्ड आवश्यक भएको बताएका छन्।
पोर्टल्यान्डस्थित आइस केन्द्र जुन महिनादेखि प्रदर्शनकारीहरूको निशानामा रहँदै आएको छ। अमेरिकी न्याय मन्त्रालयले सेप्टेम्बर ८ सम्ममा आगजनी, प्रहरीमाथि आक्रमण र गिरफ्तारी प्रतिरोधजस्ता अपराधमा २६ जनामाथि संघीय मुद्दा दायर गरिसकेको छ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले प्रदर्शनकारीहरूले बारम्बार आइसका केन्द्रलाई घेरेको दाबी गर्दै यसका लागि एन्टिफालाई जिम्मेवार ठहराएको छ। ‘रोस सिटी एन्टिफा’ ले आइस अधिकारीहरूको घरको ठेगाना सार्वजनिक गरेको र मार्ने धम्की दिएको आरोप लगाइएको छ, तर उक्त समूहले यी आरोपहरू अस्वीकार गरेको छ।
यसै हप्ता, ट्रम्पले एन्टिफालाई औपचारिक रूपमा ‘घरेलु आतंकवादी संगठन’ घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। तर कानुनविद्हरूका अनुसार, अमेरिकामा कुनै समूहलाई घरेलु आतंकवादी संगठन घोषणा गर्ने स्पष्ट कानुनी आधार छैन।
यस्तो कदमले स्वतन्त्र अभिव्यक्ति र भेला हुने अधिकारको रक्षा गर्ने संविधानको पहिलो संशोधनअन्तर्गत कानुनी चुनौती सामना गर्न सक्छ।
यसअघि पनि ट्रम्पले लस एन्जलस र वाशिङ्टन डीसीमा नेशनल गार्ड पठाएका थिए। लस एन्जलसमा करिब २,००० संघीय सुरक्षाकर्मी तैनाथ गरिएको थियो, जसले आन्दोलन हिंसात्मक बनेपछि अश्रु ग्यासको समेत प्रयोग गरेका थिए।








