अमेरिकामा स्कुलका प्रमुख आइसद्वारा पक्राउ, अनुसन्धान जारी
प्रकाशित मिति : आश्विन ९, २०८२ शुक्रबार
अमेरिकाको आयोवा राज्यस्थित डेस मोइन पब्लिक स्कुल्सका सुपरिन्टेन्डेन्ट इयान रोबर्ट्सलाई अमेरिकी आप्रवासन निकाय (आइस) का अधिकारीहरूले पक्राउ गरेका छन्।
आयोवा अमेरिकाको मध्य-पश्चिमी क्षेत्रमा पर्ने राज्य हो, जसको राजधानी र सबैभन्दा ठूलो सहर डेस मोइन हो।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचए) का अनुसार रोबर्ट्स अमेरिकामा अवैध रूपमा बसिरहेका थिए। आइस ले रोबर्ट्सलाई “अपराधी विदेशी” र सार्वजनिक सुरक्षाका लागि खतरनाक व्यक्ति भनेको छ। पक्राउको समयमा उनीसँग लोड गरिएको ह्यान्डगन, करिब ३,००० डलर नगद र चक्कु फेला परेको थियो।
कानुनी हैसियतबिना बसेका व्यक्तिले अमेरिकामा हतियार राख्न नपाउने प्रावधान छ। उनीमाथि यसअघि पनि हतियारसम्बन्धी मुद्दा थियो। सार्वजनिक अभिलेखअनुसार उनी २०२२ मा पेन्सिलभेनियामा हतियार मुद्दामा दोषी ठहरिएका थिए।
रोबर्ट्स १९९९ मा विद्यार्थी भिसामा अमेरिका प्रवेश गरेका थिए र आइस को भनाइअनुसार २०२४ मा एक आप्रवासन न्यायाधीशले उनलाई “देश निकाला गर्ने अन्तिम आदेश” दिएका थिए। रोबर्ट्स गुयाना मूलका हुन् र उनले आफ्नो बाल्यकाल ब्रुकलिन, न्युयोर्कमा बिताएका थिए।
उनी दशकौँको अनुभव भएका शिक्षाविद् हुन् । २००० को सिड्नी ओलम्पिकमा ट्र्याक एन्ड फिल्डमा प्रतिस्पर्धा गरेका पूर्व एथलीट पनि हुन्। पक्राउ हुनुअघि उनले डेस मोइन स्कुल प्रणालीका ३० हजारभन्दा बढी विद्यार्थीको जिम्मेवारी सम्हालिरहेका थिए।
डेस मोइन पब्लिक स्कुल्सका बोर्ड अध्यक्ष ज्याकी नोरिसले रोबर्ट्सलाई विद्यालय समुदायको अविभाज्य अङ्ग बताएका छन्। डेस मोइन स्कुल्सले रोबर्ट्सलाई नियुक्त गर्दा हतियार मुद्दाबारे जानकार रहेको तर उनको स्पष्टीकरणका कारण नियुक्तिमा अवरोध नआएको जनाएको छ।
उनको गिरफ्तारीपछि डेस मोइनस्थित सङ्घीय अदालतबाहिर रोबर्ट्सलाई रिहा गर भन्ने नारासहित प्रदर्शन समेत भएको थियो। आयोवाको आप्रवासी समुदायसमेत यस गिरफ्तारीबाट त्रसित बनेको बताइएको छ।








