ट्रम्प प्रशासनद्वारा जर्ज सोरोसको फाउन्डेसनमाथि अनुसन्धानको लागि सरकारी वकिललाई निर्देशन


प्रकाशित मिति : आश्विन ८, २०८२ बिहीबार

By Jeff Ooi – Photo taken by Jeff Ooi., CC BY 2.5, https://commons.wikimedia.org/w/index.php?curid=1467093

डिपार्टमेन्ट अफ जस्टिसका एक वरिष्ठ अधिकारीले आधा दर्जनभन्दा बढी अमेरिकी सरकारी वकिलको कार्यालयहरूलाई अरबपति डेमोक्रेटिक डोनर जर्ज सोरोसद्वारा वित्त पोषित एउटा समूहमाथि अनुसन्धान गर्ने योजना तयार पार्न निर्देशन दिएका छन्। राष्ट्रपति ट्रम्पले बारम्बार सोरोसलाई जेल हाल्न माग गर्दै आएका छन्।

निर्देशनमा सरकारी वकिलहरूले लगाउन सक्ने सम्भावित आरोपहरू पनि सूचीबद्ध गरिएका छन्, जुन आगजनीदेखि लिएर आतङ्कवादलाई भौतिक समर्थनसम्मका छन्। विशिष्ट व्यक्ति वा समूहलाई आपराधिक अनुसन्धानको विषय बनाउने राष्ट्रपतिको आदेश पालना गर्दै डिपार्टमेन्ट अफ जस्टिसका अधिकारीले यो कदम चालेको देखिएको छ । विगतमा डिपार्टमेन्ट अफ जस्टिसलाई राजनीतिक हस्तक्षेपबाट अलग राख्ने अभ्यास थियो ।

सप्ताहन्तमा राष्ट्रपतिले न्यायमन्त्री पाम बन्डीलाई आफ्ना पुराना प्रतिद्वन्द्वी, पूर्व एफबीआई निर्देशक जेम्स बी कोमी र न्युयोर्क महान्यायाधिवक्ता लेटिशिया जेम्स विरुद्ध छिट्टै फौजदारी मुद्दा चलाउन आग्रह गरेका थिए। ट्रम्पले आफ्ना व्यवसायहरूमाथि मुद्दा हाल्ने जेम्समाथि पनि आक्रोश व्यक्त गरेका छन्। हालैका दिनहरूमा ट्रम्पले सोरोस विरुद्ध आफ्ना गुनासाहरू सार्वजनिक गरेका छन् ।

सोरोस लामो समयदेखि दक्षिणपन्थीहरूको निशानामा पर्दै आएका छन्। यस महिना युटाहमा एक दक्षिणपन्थी कार्यकर्ताको हत्या भएपछि राष्ट्रपतिले उदारवादी प्रदर्शनकारीहरू र सोरोस लगायतका डोनरहरूलाई चुप लगाउन सरकारी शक्ति प्रयोग गर्ने धम्की दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोरोसले दशकौं पहिले आफ्नो विश्वव्यापी अनुदान सञ्जाल सुरु गरेका थिए, जुन अहिले ओपन सोसाइटी फाउन्डेसन्सको नामले चिनिन्छ । यसको उद्देश्य विश्वभर लोकतान्त्रिक पहलहरूलाई आर्थिक सहयोग गर्नु रहेको बताइन्छ । यो फाउन्डेसनले मानव अधिकार, लोकतन्त्र र समानताका लागि काम गर्ने समूहहरूलाई अनुदान दिदै आएको बताएपनि ट्रम्प र केही रिपब्लिकनहरूले यसलाई नागरिक अशान्ति र हिंसक विरोधलाई बढावा दिइरहेको आरोप लगाउँछन्।

आलोचकहरुले यी दाबीहरूलाई असहमतिलाई दमन गर्न लक्षित गरिएका झुटा कुराहरू भनेका छन्। सोमबार डिपार्टमेन्ट अफ जस्टिसका बरिष्ठ अधिकारीको कार्यालयका वकिल आकाश सिंहले क्यालिफोर्निया, न्युयोर्क, वासिङ्टन डीसी, सिकागो, डेट्रोइट र मेरिल्यान्ड लगायतका अमेरिकी सरकारी वकिलको कार्यालयहरूलाई फाउन्डेसन्स विरुद्ध सङ्गठित अपराध, आगजनी, वायर फ्रड र आतङ्कवादलाई भौतिक समर्थन जस्ता सम्भावित आरोपहरूको एक विस्तृत दायरा विचार गर्न सुझाएका थिए।

सिंहले अनुसन्धानको प्रमाणको रूपमा क्यापिटल रिसर्च सेन्टर नामक एक रूढिवादी वाचडग समूहको हालैको रिपोर्टलाई उद्धृत गरेका थिए। उक्त रिपोर्टमा सोरोसको समूहले आतङ्कवाद वा चरमपन्थी हिंसासँग जोडिएका समूहहरूमाथि ८० मिलियन डलरभन्दा बढी खर्च गरेको दाबी गरिएको छ । यसले प्यालेस्टिनी मानव अधिकार समूह अल हकलाई उदाहरणको रूपमा उल्लेख गरेको छ। अल हकलाई सन् २०२२ मा इजरायली सरकारले आतंकवादी गतिविधिको फ्रन्ट घोषित गरेको थियो, जसको ओपन सोसाइटी फाउन्डेसन्सले विश्वसनीय प्रमाणमा आधारित नभएको भन्दै आलोचना गरेको थियो।

ओपन सोसाइटी फाउन्डेसनले भने यी आरोपहरूको खण्डन गर्दै तिनीहरूलाई राजनीतिक प्रेरित हमला भनेको छ जसको उद्देश्य प्रशासनसँग असहमत विचारलाई दबाउनु रहेको फाउन्डेसनको दावी छ । फाउण्डेसनले आतङ्कवादको निन्दा गर्ने र यसलाई आर्थिक सहयोग नगर्ने दाबी गर्दै आफ्ना गतिविधिहरू शान्तिपूर्ण र कानुनी रहेको बताएको छ ।

यस महिना कर्कको हत्यापछि ट्रम्पले कट्टरपन्थी वामपन्थीको कडा आलोचना गर्दै सोरोसको फाउन्डेसनलाई लक्षित गरेका थिए र उनलाई जेल हाल्न आग्रह गरेका थिए। उनले सोरोस एक खराब व्यक्ति भएको र उनलाई जेलमा हाल्नुपर्ने बताएका थिए ।

ओपन सोसाइटी फाउन्डेसनले नेपालमा पनि स्थानीय संस्थाहरू, पत्रकारहरू, कार्यकर्ताहरूलाई आर्थिक सहयोग गर्दै आएको छ । सन् २०२० मामात्र नेपालमा २ दशमलव ३ मिलियन डलर खर्च गरेको थियो । २०१२ मा संविधान सभाको विघटन पछि स्वतन्त्र र निष्पक्ष चुनावको लागि अभियान चलाउने समूहहरूका नाममा २ लाख २१ हजार २ सय ६८ डलर यो फाउण्डेशनले दिएको थियो ।

नेपालमा यो फाउण्डेशनले सहयोग गरेकाहरुबारे विस्तृतमा हेर्न यहाँ क्लीक गर्नुहोला ।

२०१३ देखि २०१५ सम्म मौलिक अधिकारको संरक्षणको लागि वकालत गर्ने वकिल र समूहहरूका नाममा १ लाख २८ हजार ३ सय डलर दिएको थियो भने २०१५ को भूकम्पपछि स्वास्थ्यकर्मी, प्रहरी र प्रधानाध्यापकहरू सहित भविष्यका विपत्तिहरूको तयारी गर्न २५ स्थानीय नेताहरूको लागि छ महिनाको कोर्सको लागि आर्थिक सहयोग गरेको थियो ।
सन् २००७ देखि यो फाउण्डेशनले नेपालमा पत्रकारिता र सामुदायिक रेडियोहरुलाई १३ लाख ९० हजार डलर प्रदान गरेको छ ।

चुनावी जागरणका लागि भन्दै २०१७ मा विभिन्न समूहहरूलाई फाउण्डेशनले वित्त पोषित गरेको थियो । २०१५ र २०१६ मा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको रक्षा गर्ने कानूनको वकालत गर्ने नेपालका वकिल र कार्यकर्ताहरूलाई २ लाख २४ हजार ३५२ डलर फाउण्डेशनले दिएको थियो । यसरी नेपालमा अहिलेसम्म यो फाउण्डेशनले कैयन मिलियन डलर खर्च गरिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com