अमेरिकाले कामदार भिसाको शुल्क बढाएपछि दक्ष कामदारको रोजाइ क्यानडा बन्ने सम्भावना कति ?


प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार

अमेरिकाले कामदार भिसाको शुल्क अत्यधिक बढाएपछि त्यसको लाभ क्यानडाले लिन सक्नुपर्छ भन्दै आन्तरिक बहस सुरु भएको छ।

वकिल तथा व्यावसायिक विज्ञहरूले अमेरिकाले कामदार भिसाको शुल्क बढाउनु क्यानडाका लागि अवसर हुन सक्ने औँल्याएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय एच–१बी भिसा कार्यक्रमको शुल्क १ लाख डलरसम्म बढाउने घोषणा गरेका छन्।

तर, केही विशेषज्ञहरूले क्यानडाको आप्रवासन प्रणाली आफैँमा चुनौतीपूर्ण भएको भन्दै अमेरिकाबाट निराश भएका कामदारले क्यानडामा सहज विकल्प नपाउन सक्ने सम्भावना रहेको चेतावनी दिएका छन्।

क्यानडामा रहेका आप्रवासन वकिल इभान ग्रिनले यो क्यानडाका लागि असाधारण अवसर भएको बताए।

“बिल्ड क्यानडा” नामक गैरनाफामूलक संस्थाले पनि क्यानडालाई छिटो कदम चाल्न आग्रह गरेको छ। लाखौँ उच्च-कुशल एच–१बी पेसेवरहरू अब नयाँ ठाउँ खोजिरहेका छन्। क्यानडा अमेरिकासँग भौगोलिक रूपमा नजिक र उच्च जीवनस्तर रहेको स्वाभाविक गन्तव्य हो।

सन् २०२० मा भएको अध्ययनले अमेरिकी भिसा प्रतिबन्धपछि बहुराष्ट्रिय कम्पनीहरूले कामदारलाई क्यानडामा रोजेको देखाएको थियो। सन् २०२३ मा क्यानडाले अमेरिकामा रहेका एच–१ बी धारकलाई तीन वर्षे कार्य अनुमति दिने कार्यक्रम ल्याउँदा, २४ घण्टाभित्रै १० हजारले आवेदन भरिसकेका थिए।

तीमध्ये केही अमेरिका छोडेर क्यानडामै गएका पनि छन्। तर, वकिल मार्क होल्थेले भने, धेरै जना स्थायी बसोबास पाउन सङ्घर्षरत छन्।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले न्यूयोर्क सहरमा काउन्सिल अफ फरेन रिलेसन्समा दिएको भाषणमा क्यानडाका धेरै प्रतिभावान मानिसहरूले अमेरिका नै रोज्ने गरेको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले कार्यक्रममा आफ्नो देशको अनुसन्धान र कृत्रिम बुद्धिमत्ता क्षमताको चर्चा गरेका थिए। उनले अमेरिकाले गर्दै गरेको भिसा नीति परिवर्तनले ती प्रतिभावान जनशक्तिलाई जोगाउन सकिन्छ कि भन्ने आशा पलाएको बताए।

गत हप्ताको अन्त्यतिर ट्रम्पले नयाँ एच–१बी आवेदन शुल्क १ लाख अमेरिकी डलर तोक्ने घोषणा गरेपछि अमेरिकी प्रविधि कम्पनीहरूलाई समेत स्तब्ध बनाएको छ।

यो निर्णयले हालका एच–१बी भिसा धारकलाई असर नगरे पनि नयाँ उच्च शिक्षित विदेशी कामदारलाई अमेरिका जान कठिन हुने अपेक्षा गरिएको छ।

अमेरिकी विश्वविद्यालयबाट हालसालैका अन्तर्राष्ट्रिय स्नातकहरू सबैभन्दा धेरै समस्यामा पर्न सक्ने विश्लेषण गरिएको छ। क्यानडाले पछिल्ला वर्षमा आप्रवासन सङ्ख्यामा कटौती गरेको छ।

अस्थायी कामदार कार्यक्रमलाई लिएर राजनीतिक विवाद बढिरहेको छ। तलब संरचना अमेरिकाभन्दा सामान्यतया कम छ। एच–१बी ले अमेरिकामा विशेषगरी उच्च प्रविधि क्षेत्रमा ठूलो आर्थिक विकास र नवप्रवर्तन ल्याएको छ।

क्यानडाको आप्रवासन विभागका प्रवक्ताले अमेरिकाको एच–१बी परिवर्तनबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्। तर, एक्सप्रेस इन्ट्री जस्ता कार्यक्रम र ग्लोवल स्किल्स स्ट्राटेजी जस्ता द्रुत प्रक्रिया भएका योजनामार्फत उच्च-कुशल कामदारलाई ल्याउन सकिने प्रवक्ताले बताए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com