ट्रम्पले भने: रुस ‘कागजी बाघ’ रहेछ, युक्रेनको कब्जा भएको भूमि फिर्ता गर्नुपर्छ
प्रकाशित मिति : आश्विन ६, २०८२ मंगलबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रुसले कब्जा गरेको आफ्नो सबै भूभाग फिर्ता लिन सक्ने बताएका छन्। रुस-युक्रेन युद्धको विषयमा ट्रम्पमा आएको यो परिवर्तनले सबैलाई आश्चर्यमा पारेको छ।
यसअघि उनले रुसले कब्जा गरिसकेको भूभागलाई त्यागेर युक्रेनले शान्ति सम्झौतामा हस्ताक्षर गर्नुपर्ने बताउँदै आएका थिए। तर, जेलेन्स्कीले भने सधैँ यस्तो सम्झौतालाई अस्वीकार गर्दै आएका छन्।
ट्रम्पले पछिल्लो पटक बताएअनुसार युद्ध सुरु हुँदा युक्रेनसँग जति भूभाग थियो, त्यो उसले फिर्ता पाउनुपर्ने पक्षमा आफू रहेका छन्।
ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्दै रुसको कमजोर अर्थतन्त्रको कारण युक्रेनले “युद्ध सुरु भएको बेलाको मूल सिमाना फिर्ता” लिन सक्ने बताएका छन्। यसका लागि युरोप र नेटोको सहयोग आवश्यक रहेको उनको भनाइ छ।
न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घ महासभामा सम्बोधन गरेपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भएको भेटवार्ता पश्चात ट्रम्पको यो धारणा सार्वजनिक भएको हो।
ट्रम्पले यसअघि बारम्बार युद्ध चाँडै अन्त्य गर्न चाहेको बताउँदै आएका थिए।
युक्रेन र रुसको सैन्य र आर्थिक स्थिति पूर्णरूपमा बुझिसकेपछि आफ्नो धारणामा फेरबदल आएको उनको भनाइ रहेको छ। रुस ठूलो आर्थिक समस्यामा रहेको भन्दै यही अवसरलाई युक्रेनले प्रयोग गर्न सक्नुपर्ने ट्रम्पले बताए। उनले रुसलाई “पेपर टाइगर” अर्थात् कागजी बाघको संज्ञा दिएका छन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यसलाई “ठूलो परिवर्तन” भन्दै युद्धपछि अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने सङ्केत समेत पाएको भन्दै ट्रम्पको भनाइको स्वागत गरेका छन्। उनले भविष्यमा अमेरिकाबाट अझै धेरै हतियार, हवाई रक्षा प्रणाली र ड्रोन सहयोगको सम्भावना रहेको बताए।
यस पटकको उनको धारणा परिवर्तनले युद्ध वार्तामा नयाँ तरङ्ग ल्याउन खोजिएको हुन सक्ने विश्लेषकहरूको अनुमान छ।
ट्रम्पको पोस्टको अन्तिम भागमा उनले अमेरिकाले नेटोलाई हतियार बेचिरहने उल्लेख गरेका छन्। नेटोले ती हतियार किनेर युक्रेनलाई हस्तान्तरण गर्न सक्नेछ।
ट्रम्पले नेटो सदस्य राष्ट्रहरूलाई आफ्नो आकासीय सीमा उल्लङ्घन गर्ने रुसी विमानलाई खसाल्नुपर्ने सुझाव पनि दिएका छन्। पछिल्लो समय इस्टोनिया, पोल्यान्ड र रोमानियाको आकाशमा रुसी विमान र ड्रोन प्रवेश गरेको खबर आइरहेका छन्।
नेटोले रुसको कारबाहीलाई “उत्तेजक, जोखिमपूर्ण र गैरजिम्मेवार” भन्दै निन्दा गरेको छ। उसले आफ्नो सुरक्षाका लागि आवश्यक सबै सैन्य तथा गैरसैन्य उपाय प्रयोग गर्ने चेतावनी समेत दिएको छ।
पोल्यान्डका राष्ट्रपति कारोले नोब्रोकीले मध्य तथा पूर्वी युरोपका देशहरू रुसी ड्रोनबाट नडराउने भन्दै आफ्नो भूभागको रक्षा गर्न तयार रहेको बताएका छन्।
रुसले भने इस्टोनियाको आकाश उल्लङ्घन नगरेको दाबी गर्दै पोल्यान्ड घटनालाई भुलवस भएको भनेको छ।
यसअघि ट्रम्पले नेटो देशहरूले अझै पनि रुसी ऊर्जा किनिरहनु ‘आफैँलाई युद्धको खर्च व्यहोर्नु’ भएको भन्दै आलोचना गरेका थिए।








