भेनेजुएली डुङ्गामाथि अमेरिकी सेनाको आक्रमण, ३ जनाको मृत्यु


प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार

अमेरिकी सेनाले लागूऔषध बोकेको भेनेजुएलाको डुङ्गामाथि आक्रमण गर्दा तीन जनाको मृत्यु भएको छ। अमेरिकातर्फ लागूऔषध बोकेर गइरहेको डुङ्गालाई अन्तर्राष्ट्रिय जलक्षेत्रमा नष्ट गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

ट्रम्पले आक्रमणमा मारिएका तीन जना हिंस्रक लागूऔषध तस्करी गिरोहका सदस्य भएको दाबी गरेका छन्। तर, उनले डुङ्गामा साँच्चिकै लागूऔषध थियो भन्ने प्रमाण भने पेस गरेका छैनन्।

यसअघि नै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले काराकासले अमेरिकी ‘आक्रमण’ विरुद्ध आत्मरक्षा गर्ने चेतावनी दिएका थिए।
उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई ‘मृत्युका दूत र युद्धका प्रभु’ भनेर सम्बोधन गरेका थिए।

अमेरिकाले दक्षिण क्यारिबियनमा ‘लागूऔषध नियन्त्रण’ को नाममा युद्धपोत पठाएपछि पहिलो पटक भएको आक्रमणका कारण दुवै देशबीच तनाव बढेको हो। उक्त आक्रमणमा ११ जना भेनेजुएलीको मृत्यु भएको थियो।

“अमेरिकी सेनाले अत्यन्तै हिंस्रक लागूऔषध तस्करी कार्टेल र ‘नार्कोटेरोरिस्ट’ हरूमाथि दोस्रो प्रहार गरेको छ,” ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्। उनले ती कार्टेलहरूले अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गरेको दाबी गरेका छन्।

यसअघि रुबियोले पहिलो आक्रमणलाई समर्थन गर्दै भेनेजुएलाबाट आएको डुङ्गा निश्चित रूपमा तस्करीमा संलग्न रहेको बताएका थिए। उनले “केही डुङ्गाहरू नष्ट गर्ने समय आएको” पनि बताएका थिए।

भेनेजुएलाका राष्ट्रपति मदुरोले भने अमेरिकाले गरेका आक्रमणका कारण दुई देशबीचको सम्बन्ध “पूर्ण रूपमा समाप्त” भएको बताए।
कानुनी विशेषज्ञहरूले अन्तर्राष्ट्रिय जलक्षेत्रमा भएको पहिलो घातक आक्रमणले मानवअधिकार र समुद्री कानुन को उल्लङ्घन गर्न सक्ने बताएका छन्।

भेनेजुएलाले अमेरिकी युद्धपोतमाथि दुईवटा लडाकु विमान उडाएको दाबी गरेको छ। त्यसपछि ट्रम्पले अमेरिकी सेनालाई खतरामा पार्ने कुनै पनि भेनेजुएली विमान खसाल्ने चेतावनी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तनाव बढ्दा भेनेजुएलाका विदेशमन्त्री इभान गिलले अमेरिकी सेनाले माछा मार्ने डुङ्गालाई ८ घण्टासम्म नियन्त्रणमा लिएको आरोप लगाए। भेनेजुएलाको सूचना मन्त्रालयले उक्त डुङ्गाको तस्बिर पनि सार्वजनिक गरेको छ।

अमेरिकी अधिकारीहरूले लागूऔषध तस्करी समूहको नेता भएको आरोप मदुरोमाथि लगाउँदै आएका छन्। अमेरिकी अधिकारीहरूले मदुरोको पक्राउमा सहयोग गर्ने सूचना दिनेलाई ५० मिलियन डलरको इनाम घोषणा गरेका छन्।

मदुरोले सबै आरोप अस्वीकार गर्दै अमेरिकामाथि ” शासन परिवर्तनको प्रयास” गरेको आरोप लगाएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com