प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै
प्रकाशित मिति : भाद्र २३, २०८२ मंगलबार
प्रधान सेनापति अशोकराज सिग्देलले हालैका घटनाक्रमबारे सम्बोधन गर्ने भएका छन्। अहिले त्यसको तयारी भइरहेको छ।
हिंसात्मक झडपमा कम्तीमा १९ जनाको मृत्यु भएको एक दिनपछि नेपालमा प्रदर्शनकारीहरूले कर्फ्यूको अवज्ञा गर्दै संसद, सिंहदरवार र नेताहरूको घरमा आगजनी गरेपछि स्थीति तनावग्रस्त भएको छ । सिंहदरबारभित्र छिरेका प्रदर्शनकारीले १ सय १५ वर्षभन्दा पुरानो नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाएका छन् । सिंहदरबारभित्रका स्वास्थ्य, शिक्षा, गृह र संचार लगायतका सबैजसो मन्त्रालयमा आगजनी भएको छ । भवनभित्रै छिरेर प्रदर्शनकारीले आगो लगाएका छन् भने प्रदर्शनकारीले सिंहदरबारभित्रका गाडी र मोटरसाइकलमा पनि आगो लगाएका छन् ।
प्रदर्शनकारीले सरकारी कार्यालय र नेताहरूको घरमा पनि आगजनी गरेका छन् । सर्वोच्च अदालतको भवन र भ्रष्टाचार विरोधी विशेष अदालतमा आगो लगाइएको छ । मंगलबार बिहान ओली सरकारले व्हाट्सएप र इन्स्टाग्राम सहित प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाउने आफ्नो निर्णयबाट पछि हटेको थियो। यो प्रतिबन्धले आधिकारिक भ्रष्टाचार र आर्थिक असमानताप्रतिको वर्षौंदेखिको आक्रोश र निराशालाई थप चर्काएको थियो। अधिकारीहरूले आजको प्रदर्शन रोक्नका लागि कर्फ्यू पनि घोषणा गरेका थिए।
प्रदर्शनकारीहरूले शीर्ष नेताहरूको घर मात्र नभई उनीहरूका राजनीतिक दलका कार्यालयहरू, प्रहरी चौकी र सर्वोच्च अदालत र संसद लगायतका सरकारी भवनहरूमा पनि आगजनी गरेका छन् । राजधानी काठमाडौंभरि तैनाथ सुरक्षाकर्मीले ती सम्पत्तिहरूको रक्षा गर्न सकेका छ्रैनन् ।
ओलीको नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेस पार्टीको मुख्यालयमा आगजनी भएको छ । दुई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवा, साथै ओलीको घरमा पनि आगो लगाइएको छ । १९ जनाको मृत्युको नैतिक जिम्मेवारी स्वीकार गर्दै सोमबार राजीनामा दिएका पूर्व गृहमन्त्री रमेश लेखकको घर पनि जलाइएको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा हेलिकप्टरले मन्त्रीहरूलाई सरकारी मुख्य प्रशासनिक भवनमा रहेका उनीहरूको क्वार्टरबाट सुरक्षित स्थानमा सारिरहेको देखाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिइसकेका छन् ।
काठमाडौँ उपत्यकामा आगोको धुवाँ फैलिएपछि नेपालको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार बन्द गरिएको थियो। त्यहाँ अवतरण गर्ने तय भएका उडानहरू अन्य देशहरूमा डाइभर्ट गरिएका थिए।
नेपालमा राजनीतिक अवस्थालाई दक्षिण एसियामा हालैको ढाँचासँग तुलना गरिएको छ । बंगलादेशको राजधानी ढाकामा पनि यस्तै दृश्यहरू देखिन थालेको एक वर्ष भइसकेको छ भने देशको सबैभन्दा शक्तिशाली व्यक्तित्व रहेका प्रधानमन्त्री, सडकमा आक्रोशित प्रदर्शनहरूबाट पदबाट धपाइएपछि बेपत्ता भएका छन् ।
लगभग तीन वर्षअघि श्रीलंकामा पनि यस्तै भएको थियो। प्रत्येक विरोध आन्दोलन आकर्षक नाम, विद्यार्थी नेताहरू र जलाइएका भवनहरू सहित आएको छ भने प्रत्येकले सम्पूर्ण प्रतिष्ठानलाई भत्काउन सफल भएका छन् ।
काठमाडौंका मेयर तथा र्यापर बालेन्द्र शाह दुई दिनअघि कथित जेन जी प्रदर्शनकारीहरूको समर्थकको रूपमा देखा परेका थिए। नेपालका लगभग सबै स्थापित राजनीतिक वर्ग प्रदर्शनकारीहरूबाट भागिरहेका बेला शाह भने प्रख्यात भएका छन्। प्रधानमन्त्रीको राजीनामा पछि शाहले प्रदर्शनकारीलाई संयम रहन आग्रह गरेका छन् । प्रदर्शनकारीहरूलाई सम्पत्ति नष्ट गर्न बन्द गर्न, सेना प्रमुखसँग वार्ता गर्न र संसद विघटन गर्न जोड दिन आग्रह गरेका छन् ।
नेपालमा पछिल्ला केही वर्षदेखिको आक्रोश र निराशा काठमाडौंमा भएको प्रदर्शनमा प्रस्ट देखिएको हो । सरकारले केही दिनअघि मुख्य सामाजिक सञ्जालहरूमा लगाएको प्रतिबन्धले आगोमा घिउ थपेको थियो। प्रदर्शनकारीहरुले राजतन्त्र हटेर लोकतान्त्रिक गणतन्त्र स्थापना भएदेखि नेपालमा रहेका दीर्घकालीन सामाजिक समस्याहरूको पनि विरोध गरेका छन् ।
देशको सबैभन्दा ठूलो समस्यामध्ये एक बेरोजगारी रहेको छ किनभने ३ करोड जनसंख्या भएको नेपालमा जागिर पाउनु निकै कठिन रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुशार पनि बेरोजगारी दर १२ दशमलव ६ प्रतिशत छ । तर यो तथ्यांकमा औपचारिक क्षेत्रमा काम गर्नेहरू मात्र समावेश भएकाले समस्या अझ जलिट रहेको छ । अधिकांश बेरोजगारीको समस्या युवा पुस्तामा बढी छ, जसले राम्रो जागिरको आशा राखेका छन्।
घरेलु अवसर नपाएपछि हरेक दिन सयौं युवाहरू रोजगारीका लागि खाडी राष्ट्रहरू र मलेसियामा जाने गरेका छन् । । हजारौं युवाहरू भारतमा मजदुरका रूपमा काम गर्छन्। सरकारी तथ्यांकअनुसार गत वर्ष ७ लाख ४१ हजारभन्दा बढी मानिस रोजगारीको खोजीमा विदेशिएका थिए ।
विदेशमा रहेका करिब २० लाख नेपालीले पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई धानिरहेको छ। सन् २०२४ मा उनीहरूले पठाएको ११ बिलियन डलर देशको कुल गार्हस्थ्य उत्पादनको २६ प्रतिशतभन्दा बढी थियो।
यी आर्थिक समस्याहरूको मुख्य कारण भ्रष्टाचार भएको धेरै नेपालीहरुको बुझाई छ । उनीहरू सानो संख्याका कुलीन वर्गले आफ्ना बच्चाहरूका लागि ठूलो सम्पत्ति जोडेको देखेर आक्रोशित रहेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई एसियाकै सबैभन्दा भ्रष्ट देशमध्ये एक मानेको छ।
नेपालमा लोकतन्त्र निकै संघर्षपछि आएपनि यसले प्रदर्शनकारीहरूको अपेक्षा पूरा गर्न सकेको छैन। प्रदर्शनकारीहरू पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा र बुहारीको विलासी जीवनशैली देखेर आक्रोशित छन्। उनीहरू अन्य नेताका बच्चाहरूको पनि विलासी जीवनशैलीको तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।








