फ्लोरिडामा खोपसम्बन्धी नीति परिवर्तनले नेपाली बालबालिकालाई पनि असर पार्ने


प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार

अमेरिकाको फ्लोरिडा राज्यले अनिवार्य खोपको नीति अन्त्य गर्ने भएको छ। अहिले त्यहाँका सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले पोलियोलगायतका रोगविरुद्ध खोप लगाउनु अनिवार्य छ।

यसको असर नेपाली समुदायमा पनि पर्न सक्छ, किनभने फ्लोरिडामा धेरै नेपालीहरूको बसोबास छ। यदि खोपको नीति हटाइएमा, त्यहाँका नेपाली बालबालिकाहरू पनि खोपबाट रोकथाम गर्न सकिने रोगहरूको जोखिममा पर्न सक्छन्।

राज्यका प्रमुख स्वास्थ्य अधिकारी तथा फ्लोरिडाका सर्जन जनरल जोसेफ लाडापोले अनिवार्य खोपको नीति हटाउने योजनाको घोषणा गर्दै खोप अनिवार्यतालाई “दासता” सँग तुलना गरेका छन्। उनले बालबालिकाको शरीरमा के राख्ने वा नराख्ने भन्ने निर्णय गर्ने अधिकार अरू कसैको नहुने बताएका छन्।

यस योजनालाई कहिले र कसरी लागू गर्ने भन्नेबारे फ्लोरिडाका अधिकारीहरूले कुनै समयसीमा वा विस्तृत जानकारी दिएका छैनन्। रिपब्लिकनको नियन्त्रणमा रहेको राज्य संसदको बहुमतले केही खोपको अनिवार्यता हटाउन सकिन्छ भने केहीलाई राज्यको स्वास्थ्य मन्त्रालयले नै खारेज गर्न सक्छ।

फ्लोरिडाका अधिकारीहरूले खोपको अनिवार्यता जुनसुकै हालतमा हटाइने बताएका छन्। तर, चिकित्सक र स्वास्थ्य समूहहरूले खोपबारे गलत सूचना फैलाएको भन्दै उनीहरूको आलोचना गरेका छन्।

डेमोक्रेटिक राज्य सांसदहरूले सबै खोपको अनिवार्यता हटाउने योजनालाई “लापरबाहीपूर्ण र खतरनाक” भन्दै त्यसको विरोध गरेका छन्। उनीहरूले यो फ्लोरिडा राज्यका लागि सार्वजनिक स्वास्थ्य संकटको तयारी भएको बताएका छन्।

हाल सबै अमेरिकी राज्यमा विद्यार्थीलाई विद्यालयमा भर्ना हुन खोप अनिवार्य छ। तर, खोप नलगाउन छुट पाउने नियम भने हरेक राज्यमा फरक-फरक छन्।

रिपब्लिकनको वर्चस्व भएको आइडाहोले पनि यसै वर्ष आफ्ना धेरै खोपसम्बन्धी नियमहरू खुकुलो पारेको थियो, तर त्यहाँ पनि बालबालिकाले अनिवार्य रूपमा केही खोप लगाउनैपर्छ। फ्लोरिडामा विद्यार्थीहरूले अहिले चिकेनपक्स, हेपाटाइटिस बी, दादुरा, गलगण्ड र पोलियोलगायत रोगविरुद्ध खोप लगाउनुपर्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फ्लोरिडा एजुकेशन एसोसिएसनसँग सम्बन्धित शिक्षक तथा प्रशासकहरूको संगठनले पनि खोपको अनिवार्यता हटाउने कदमको विरोध गरेको छ। ती संगठनहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राज्यका नेताहरूले विद्यार्थीको विद्यालयमा निरन्तर उपस्थिति बढाउने कुरा गर्छन्, तर खोप घटाउँदा यसको उल्टो असर पर्छ, जसले विद्यार्थीको स्वास्थ्य र शिक्षामा जोखिम बढाउँछ।”

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्ला ५० वर्षमा खोपका कारण कम्तीमा १५ करोड ४० लाख मानिसहरूको ज्यान जोगिएको छ, जसमा धेरैजसो शिशुहरू छन्।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार हरेक वर्ष बालबालिकाको खोपका कारण विश्वभर करिब ४० लाख मृत्यु रोकिएको छ। अघिल्लो फ्लु सिजनमा अमेरिकामा २७० बालबालिकाको मृत्यु भएको थियो, जसमा ९० प्रतिशतले खोप लगाएका थिएनन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com